नेपाली

नेपालको पर्वत जिल्लामा अवस्थित एशियाकै ठूलो ढुंगामा पर्यटकीय पूर्वाधार निर्माण

CRIPublished: 2024-10-25 16:01:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एशियाकै ठूलो महाशिला (ढुंगा) मा करोडौंको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ। सडक मार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएको हो । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको गरी सात करोडभन्दा बढीका विभिन्न संरचना निर्माण गरिएको हो।

सदरमुकाम कुश्मा बजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुंगा स्थानीयस्तरमा मेहलढुंगाको नामले समेत परिचित छ । एशियाकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । उनका अनुसार महाशिलामा अहिलेसम्म झण्डै सात करोड रुपैयाँभन्दा बढीका पूर्वाधार निर्माण भइसकेका कारोबार अनलाइनले जनाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् चार करोड १२ लाख रुपैयाँको लागतमा पर्यटकका लागि सुविधा सम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा डेढ करोड रुपैयाँको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षण लगायतका पूर्वाधार तयार गरिएको छ।

यस्तै नेपाल पर्यटन बोर्डमार्फत् ११ लाख रुपैयाँको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत संघीय मन्त्रालयमार्फत् डेढ करोड रुपैयाँ विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बजेटले महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिद लगायतमा खर्चिने भएको छ ।

केही वर्ष अघिसम्म आवश्यक प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ । लुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका जिल्लाबाट सिधै पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताउनुभयो। अधिकारीका अनुसार यो महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किम्वदन्ती छ।

एक पटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्नेछ। ‘बाबुबाजेका पालामा पुजारी बसेर पूजापाठ गरे पनि पछिल्लो समय हराउँदै गएकोमा स्थानीय महाशिला गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै यसको विकास गर्न थालेका हुन् । अहिले यहाँ नियमित पूजापाठसमेत हुने गर्दछ। एशियाकै सबैभन्दा ठूलो भएर पनि उचित प्रचारप्रसार हुन नसकेको यो महाशिला पछिल्लो समय निर्माण गरिएका आकर्षक संरचनाले पर्यटक तान्न थालेको अधिकारीले बताउनुभयो।

उहाँका अनुसार यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीया लगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । महाशिला गाउँपालिकाको नामाकरणसमेत यही शिलाको नामबाट गरिएको हो। १३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ। शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयबासीले नि:शुल्क जग्गासमेत दान गरेका छन्। अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको छ। महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोड रुपैयाँको गुरुयोजना समेत बनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn