नेपाली

खाँदबारी–किमाथाङ्का सडक खण्ड निर्माणमा तीव्रता

CRIPublished: 2024-10-25 15:52:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीव्रता पाएको छ।

भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । किमाथाङ्का–जोगवनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रुपमा मानिन्छ।

ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ । यो ट्र्याक खुल्लेसँगै यो वर्ष जोगवनी–विराटनगर–किमाथाङ्का जोडिने आयोजना प्रमुख शम्सेर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो।

हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्रयाक खोलिसकेको प्रमुख सिंहले बताउँदै छ किमी खण्ड स्तरोन्नतिसमेत गरिसकेको जानकारी दिनुभयो । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ । सो सडकबाट कोसी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्र्याक खुलेपनि खाँदबारीबाट वरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी चल्छ। सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना गर्नुपर्ने स्थानीयको माग छ।रासस

Share this story on

Messenger Pinterest LinkedIn