डेढ महिनाभित्र पेट्रोल पनि अन्तरदेशीय पाइपलाइनबाट आयात हुने
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ। मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार ५ सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ।
अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम पारम्भ भएको जानकारी दिनुभयो।
'दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ,' उनले भने, 'गत असोज १७ गते पाइपलाइपबाट परीक्षणका लागि पाँच हजार ५ सय किलोमिटर पेट्रोल ल्याएर जडान भएका उपकरणको प्रभावकारिताको परीक्षण गरिरहेका छौं । सम्भवतः डेढ महिनाभित्रमा परीक्षण पूरा गरेर डिजेलजस्तै पेट्रोल पनि व्यावसायिक रुपमा पाइपलाइनबाटै ल्याइनेछ।'
राससका अनुसार परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्।
'निगमले दोस्रो चरणको परियोजनाअन्तर्गत निर्माण गरेका उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको छ । दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्याङ्की, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेशनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको छ,' कार्यालय प्रमुख आचार्यले भन्नुभयो।
निगमकाअनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर रु तीनका दरले एक अर्ब जोगिने छ।
निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, ‘फायरफाइटिङ सिस्टम’को स्तरोन्नति, ‘आयल वाटर स्प्रे’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भएको छ। अमलेखगञ्जमा निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएको थियो । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्णरूपमा स्वचालित पेट्रोल भर्ने स्टेसन निर्माणको काम अघि सारेको थियो ।