नेपाली

दश वर्षमा पाँच खर्ब लगानी प्रतिवद्धता, ऊर्जापछि सेवा र पर्यटन प्राथमिकता

CRIPublished: 2024-10-23 15:55:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पछिल्लो १० वर्षमा मुलुकमा ५ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७१–७२ पछिका दश वर्षमा कुल ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ।

यसमा ऊर्जामूलक परियोजनामा सबैभन्दा बढी १ खर्ब ४३ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिवद्धता प्राप्त हुँदा दोस्रो स्थानमा रहेको सेवा क्षेत्रमा १ खर्ब ३९ अर्ब ५९ करोड तथा तेस्रो स्थानमा रहेको पर्यटन क्षेत्रमा १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँ लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

विभागले हालै सार्वजनिक गरेको ‘नेपालमा वैदेशिक लगानी, २०२४’ प्रतिवेदन अनुसार ऊर्जा क्षेत्र लगानीकर्ताको उच्च प्राथमिकतामा रहे पनि सेवा र पर्यटन क्षेत्रमा पनि सोही हाराहारीमा लगानीकर्ताको रुची रहेको देखिन्छ । विभागले विभिन्न ९ विधा निर्धारण गर्दै वैदेशिक लगानी भित्र्याउँदै आएको छ । जसमा कृषि तथा कृषिमा आधारित उद्योग, पर्यटन उद्योग, ऊर्जामा आधारित उद्योग, उत्पादनमूलक उद्योग, पूर्वाधार उद्योग, सेवा उद्योग, खानी तथा खानीमा आधारित उद्योग, यातायात क्षेत्र र सूचना तथा सञ्चार प्रविधि क्षेत्र रहेका छन्।

विभागको तथ्यांकअनुसार यस अवधिमा ठूला उद्योगमा सबैभन्दा बढी लगानी प्रतिवद्धता प्राप्त भएको छ । कुल लगानी प्रतिवद्धतामध्ये झन्डै आधा ठूला उद्योगमा र त्यसपछि क्रमश साना र मझौला उद्योगमा लगानी प्रतिवद्धता रहेको छ । ठूला उद्योगमा २ खर्ब ४९ अर्ब ७६ करोड तथा साना उद्योगमा १ खर्ब ७६ अर्ब ६९ करोड लगानी प्रतिवद्धता रहेको विभागले जनाएको छ । यस्तै, मझौला उद्योगमा भने ८५ अर्ब ४२ करोड लगानी प्रतिवद्धता रहेको छ । संख्यात्मक रुपमा हेर्दा साना उद्योगमा सबैभन्दा बढी ५ हजार २९२ उद्योग दर्ता भएका छन् भने ६४२ मझौला र ३३३ ठूला उद्योग दर्ता भएको तथ्यांक रहेको कारोबार अनलाइनले जनाएको छ ।

लगानी परिमाणका हिसाबले पहिलो नम्बरमा रहेको ऊर्जामा सबैभन्दा कम ९५ उद्योग दर्ता हुँदा पर्यटनमा सबैभन्दा बढी २ हजार १४७ तथा सेवा क्षेत्रमा २ हजार ८९ को संख्यामा उद्योग दर्ता भएको तथ्यांक छ । यस्तै, उत्पादनमूलकतर्फ १ हजार ३३९ गरी दश वर्षमा कूल ६ हजार २७६ उद्योग दर्ता भएका छन् । विभागका महानिर्देशक यज्ञराज कोइरालाका अनुसार पछिल्लो एक वर्षमा स्वचालित मार्गबाट पनि उद्योग दर्ता गर्न सकिने व्यवस्था भएसँगै वैदेशिक लगानी प्रतिवद्धता बढ्ने क्रममा छ । खासगरी सूचनामूलक उद्योग स्वचालित मार्गबाट दर्ता हुने गरेको विभागको भनाइ छ ।

यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरू विदेशी लगानीको महत्व धेरै हुने भन्दै साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन आग्रह गर्नुभयो। नेपालमा साना तथा मझौला उद्योगहरूले जिडिपीको करिब २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्दना अन्तरक्षेत्रीय साझेदारीको आवश्यकता उहाँले औंल्याउनुभयो । नेपाल विदेशी लगानी र प्रतिफलका लागि उचित गन्तव्य बन्न सक्ने उहाँको भनाइ थियो ।

उद्योग विभागमार्फत लगानी प्रतिवद्धता उत्साहजनक रहे पनि लगानी भित्र्याउने केन्द्रीय बैंकमार्फत प्राप्त तथ्यांक भने उत्साहजनक रहेको पाइँदैन । नेपाल राष्ट्र बैंकले अघिल्लो महिना सार्वजनिक गरेको तथ्यांक अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ । तथ्यांकअनुसार जलविद्युत क्षेत्रमा ८८ अर्ब ८१ करोड लगानी भित्रिएको छ भने उत्पादनमूलक क्षेत्रमा ८६ अर्ब ७७ करोड लगानी रहेको छ । यस्तै, वित्तीय तथा इन्सुरेन्स क्षेत्रमा ७६ अर्ब ७५ करोड, सूचना प्रविधिमा १९ अर्ब ७४ करोड र होटल तथा रेष्टुराँ क्षेत्रमा १८ अर्ब ५४ करोड रुपैयाँ विदेशी लगानी रहेको तथ्यांक छ । शिक्षा क्षेत्रमा १ अर्ब ६९ करोड र स्वास्थ्य क्षेत्रमा १ अर्ब सात करोड रुपैयाँमात्र लगानी रहेको उल्लेख छ ।

Share this story on

Messenger Pinterest LinkedIn