दश वर्षमा पाँच खर्ब लगानी प्रतिवद्धता, ऊर्जापछि सेवा र पर्यटन प्राथमिकता
लगानी परिमाणका हिसाबले पहिलो नम्बरमा रहेको ऊर्जामा सबैभन्दा कम ९५ उद्योग दर्ता हुँदा पर्यटनमा सबैभन्दा बढी २ हजार १४७ तथा सेवा क्षेत्रमा २ हजार ८९ को संख्यामा उद्योग दर्ता भएको तथ्यांक छ । यस्तै, उत्पादनमूलकतर्फ १ हजार ३३९ गरी दश वर्षमा कूल ६ हजार २७६ उद्योग दर्ता भएका छन् । विभागका महानिर्देशक यज्ञराज कोइरालाका अनुसार पछिल्लो एक वर्षमा स्वचालित मार्गबाट पनि उद्योग दर्ता गर्न सकिने व्यवस्था भएसँगै वैदेशिक लगानी प्रतिवद्धता बढ्ने क्रममा छ । खासगरी सूचनामूलक उद्योग स्वचालित मार्गबाट दर्ता हुने गरेको विभागको भनाइ छ ।
यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरू विदेशी लगानीको महत्व धेरै हुने भन्दै साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन आग्रह गर्नुभयो। नेपालमा साना तथा मझौला उद्योगहरूले जिडिपीको करिब २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्दना अन्तरक्षेत्रीय साझेदारीको आवश्यकता उहाँले औंल्याउनुभयो । नेपाल विदेशी लगानी र प्रतिफलका लागि उचित गन्तव्य बन्न सक्ने उहाँको भनाइ थियो ।
उद्योग विभागमार्फत लगानी प्रतिवद्धता उत्साहजनक रहे पनि लगानी भित्र्याउने केन्द्रीय बैंकमार्फत प्राप्त तथ्यांक भने उत्साहजनक रहेको पाइँदैन । नेपाल राष्ट्र बैंकले अघिल्लो महिना सार्वजनिक गरेको तथ्यांक अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ । तथ्यांकअनुसार जलविद्युत क्षेत्रमा ८८ अर्ब ८१ करोड लगानी भित्रिएको छ भने उत्पादनमूलक क्षेत्रमा ८६ अर्ब ७७ करोड लगानी रहेको छ । यस्तै, वित्तीय तथा इन्सुरेन्स क्षेत्रमा ७६ अर्ब ७५ करोड, सूचना प्रविधिमा १९ अर्ब ७४ करोड र होटल तथा रेष्टुराँ क्षेत्रमा १८ अर्ब ५४ करोड रुपैयाँ विदेशी लगानी रहेको तथ्यांक छ । शिक्षा क्षेत्रमा १ अर्ब ६९ करोड र स्वास्थ्य क्षेत्रमा १ अर्ब सात करोड रुपैयाँमात्र लगानी रहेको उल्लेख छ ।