काठमाडौंमा समावेशी बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
समावेशी बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई–२०२४) काठमाडौंमा सुरु भएको छ । लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बिमालाई प्रोत्साहन गर्न मंगलबारबाट सम्मेलन सुरु भएको हो ।
नेपाल बिमा प्राधिकरण, नेपाल बिमक संघ, जीवन बिमक संघ, नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउन्डेसन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलन चार दिनसम्म चल्नेछ ।
सम्मेलनमा समावेशी बिमासम्बन्धी विभिन्न २५ वटा सत्र सञ्चालन हुनेछन् । जलवायु जोखिम बिमा, लघुबिमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बिमाका क्षेत्रमा आइपर्ने अवरोधहरू हटाउनेसम्बन्धी रणनीतिलगायत विषयमा सहभागीहरूबीच छलफल केन्द्रित हुनेछ ।
विभिन्न सत्रमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बिमा क्षेत्रका चुनौती तथा अवसरहरू, बिमाको अन्तर र बिमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एंव अवलम्बनलगायत मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै अन्तरक्रिया हुने कार्यक्रम रहेको कान्तिपुर अनलाइनले जनाएको छ।
समाजमा आर्थिक रूपमा पछि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बिमालाई अघि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुंगा साबित हुने दाबी आयोजकको छ । सम्मेलनमा नेपाललगायत विभिन्न देशका बिमा क्षेत्रका नियामक निकाय, सम्बन्धित निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बिमा क्षेत्रका विज्ञहरू गरी चार सयभन्दा बढीको सहभागिता छ ।