नेपाली

नेपालको पूर्वी नाका हुँदै चिया निर्यात ५२ प्रतिशतले वृद्धि

CRIPublished: 2024-10-21 16:19:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट प्रमुख निर्यात वस्तु चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयका अनुसार चालु आवको भदौसम्ममा चिया निर्यात ५२ प्रतिशतले बढेको हो । साउन र भदौमा चार हजार चार सय १२ टन चिया निर्यात भएको भन्सारका सूचना अधिकारी गणपति कँडेलले बताए । गत आवको भदौसम्ममा दुई हजार नौ सय दुई टन चिया निर्यात भएको थियो । चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ। निर्यात भएको चियालाई मूल्यबाट हेर्दा ६२ प्रतिशतले बढेको छ।

अर्गानिकलगायत परम्परागत उत्पादनको गुणस्तरमा सुधार हुन थालेपछि चिया निर्यात बढेको बताउँदै कँडेलले यसबाट चिया खेतीमा समेत आकर्षण बढेको जनाउनुभयो। दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट यसको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो।

उहाँका अनुसार भारतमा चिया उत्पादन घट्दै गएको छ । गत आवमा १३ हजार ४ सय ३३ टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाखबराबरको चिया भारत निर्यात भएको थियो। त्यो परिमाण त्यसअघिको वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशतले कम थियो । नेपालको धेरै निर्यात हुने वस्तुको सूचीमा चिया ११ औं स्थानमा छ । नेपालले भारतसहित चीन, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, अमेरिका, इटाली, जापान, कोरिया, नेदरल्याण्ड्स, स्विट्जरल्याण्ड, फ्रान्स, बेलायतलगायत देशमा चिया निर्यात गर्दछ।

अर्थोडक्स भारतसहित अमेरिका, फ्रान्स, जर्मनीलगायत मुलुकमा निर्यात हुन्छ भने सिसिटी चियाको मुख्य बजार भारत हो । सिटिसी किलोको दुई सय ७० रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा बिक्री भएको छ । अर्थोडक्स प्रतिकिलो ६ सयदेखि १५ हजार रुपैयाँसम्म बिक्री हुने कारोबार अनलाइनले जनाएको छ । सीटीसी चिया झापालगायत जिल्लामा उत्पादन हुने र यो भारत, पाकिस्तान, बंगलादेशलगायत मुलुकमा निर्यात हुन्छ । नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएकोले स्वदेशमा पनि उत्पादन बढेको छ ।

नेपालमा अर्गानिक र परम्परागत गरी दुवै तरिकाबाट अर्थोडक्स र सीटीसी चिया उत्पादन गरिन्छ । यहाँ उत्पादन हुने अर्थोडक्स चियामध्ये ९० प्रतिशत निर्यात हुने पराजुलीको भनाइ छ । अर्थोडक्स चियाको मुख्य बजार युरोपेली मुलुक, जापान, जर्मन, क्यानडा हो । अर्थोडक्स चिया महँगो पर्ने भएकाले विशेषगरी विकसित मुलुकमा निर्यात हुने गरेको अध्यक्ष पराजुलीले बताए । यो इलाम, पाँचथर, धनकुटा लगायत जिल्लामा उत्पादन हुन्छ ।

नेपालमा एक सय २४ बगान र ४० प्रशोधन कारखाना सञ्चालन छन् । यसमध्ये २५ वटा सीटीसीका र १५ वटा अर्थोडक्सका कारखाना हुन् । नेपालले वर्षमा करिब तीन करोड किलो चिया उत्पादन गर्छ । यसमध्ये दुई करोड किलो सीटीसी चिया हो । नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ।

पूर्वी नेपालका झापा, इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा लगायत जिल्लामा चियाको व्यावसायिक खेती हुँदै आएको छ । झापामा ११ हजार चार सय २३, इलाममा सात हजार आठ सय पाँच, पाँचथरमा एक हजार एक सय ३८, धनकुटामा नौ सय ४०, तेह्रथुममा तीन सय ३७ र अन्य जिल्लामा चार हजार पाँच सय २२ हेक्टरमा चियाखेती हुने बोर्डले जनाएको छ । कुल २६ हजार एक सय ८५ हेक्टरमा चिया खेती छ ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ लगायत पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा चियाको विस्तार हुने क्रम जारी छ । हाल तराईमा २७ वटा सिटिसी चिया प्रशोधन केन्द्र, पहाडमा २८ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र तथा ६५ वटा लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा छन् । चिया उद्योगले करिब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको बोर्डले जनाएको छ ।

Share this story on

Messenger Pinterest LinkedIn