नेपालको पूर्वी नाका हुँदै चिया निर्यात ५२ प्रतिशतले वृद्धि
नेपालमा अर्गानिक र परम्परागत गरी दुवै तरिकाबाट अर्थोडक्स र सीटीसी चिया उत्पादन गरिन्छ । यहाँ उत्पादन हुने अर्थोडक्स चियामध्ये ९० प्रतिशत निर्यात हुने पराजुलीको भनाइ छ । अर्थोडक्स चियाको मुख्य बजार युरोपेली मुलुक, जापान, जर्मन, क्यानडा हो । अर्थोडक्स चिया महँगो पर्ने भएकाले विशेषगरी विकसित मुलुकमा निर्यात हुने गरेको अध्यक्ष पराजुलीले बताए । यो इलाम, पाँचथर, धनकुटा लगायत जिल्लामा उत्पादन हुन्छ ।
नेपालमा एक सय २४ बगान र ४० प्रशोधन कारखाना सञ्चालन छन् । यसमध्ये २५ वटा सीटीसीका र १५ वटा अर्थोडक्सका कारखाना हुन् । नेपालले वर्षमा करिब तीन करोड किलो चिया उत्पादन गर्छ । यसमध्ये दुई करोड किलो सीटीसी चिया हो । नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ।
पूर्वी नेपालका झापा, इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा लगायत जिल्लामा चियाको व्यावसायिक खेती हुँदै आएको छ । झापामा ११ हजार चार सय २३, इलाममा सात हजार आठ सय पाँच, पाँचथरमा एक हजार एक सय ३८, धनकुटामा नौ सय ४०, तेह्रथुममा तीन सय ३७ र अन्य जिल्लामा चार हजार पाँच सय २२ हेक्टरमा चियाखेती हुने बोर्डले जनाएको छ । कुल २६ हजार एक सय ८५ हेक्टरमा चिया खेती छ ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ लगायत पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा चियाको विस्तार हुने क्रम जारी छ । हाल तराईमा २७ वटा सिटिसी चिया प्रशोधन केन्द्र, पहाडमा २८ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र तथा ६५ वटा लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा छन् । चिया उद्योगले करिब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको बोर्डले जनाएको छ ।