ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड आम्दानी
यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ। सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार दुई सय ९० र झारलको सङ्ख्या सात सय ४४ रहेको छ। गणनापछि वैज्ञानिक तरिकाले सिकारका लागि निश्चित सङ्ख्या निर्धारण गरिन्छ। बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ। करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ। गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरेर प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरिन्छ।
विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ। रुकुमपूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ। यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन्। प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन्। यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चराहरू पाइन्छन्। वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो।
विभागको तथ्याङ्क अनुसार, अघिल्लो आर्थिक वर्षमा १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो। यसबाट कूल चार करोड २६ लाख ८८ हजार सात सय राजस्व आम्दानी भएको राससले उल्लेख गरेको छ।