नेपाली

टी–२० क्रिकेट: नेपालद्वारा अमेरिका पराजित

criPublished: 2024-10-18 16:49:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको छ।

जीतका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४७ रनमा समेटिएको थियो। अमेरिकाका लागि शयन जहानगिरले सर्वाधिक अविजित ६० रन बनाउनुभएको थियो। यस्तै आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाउनुभयो।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट र रिजन ढकाल, करण केसी र गुलशन झाले एक एक विकेट लिनुभएको थियो। यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अविजित ४९ रन बनाउनुभयो भने दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ तथा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउनुभएको थियो। बलिङमा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले दुई दुई विकेट लिनुभएको थियो।

सो खेलमा दीपेन्द्रसिंह प्लेयर अफ दि म्याच बन्नुभएको छ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन खेलको टी–२० क्रिकेट खेल्ने छ। टी–२० सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ। टी–२० सिरिजपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ। एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

तस्बिर: क्यान

Share this story on

Messenger Pinterest LinkedIn