एक महिनामै विदेश अध्ययनमा झण्डै १५ अर्ब बाहिरियो
गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ३९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो महिनामा यो शीर्षकमा १० अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको थियो ।
पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको भनाइ छ ।
नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता झाँङ्गिदै गएको, आर्थिक विकास लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीका नयाँ अवसर सिर्जना नभएको लगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् । सरकारी तथ्यांकहरूले नै कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढ्दै गएको देखाउनुले यो पुष्टि हुन्छ ।
गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यो २४ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो। यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ, आर्थिक वर्ष ०७५/७६ मा ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ।
पछिल्लो एक दशकमा विदेश अध्ययनका लागि अनुमति लिने संख्या झन्डै तीन गुणाले बढेको मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष ०७१/७२ मा ३० हजार ७ सय ९७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए । पुराना विद्यार्थीका लागि पनि केही वर्षसम्म घरपरिवारले खर्च पठाउँछन् । यसकारण अघिल्लो वर्षको तुलनामा वैदेशिक अध्ययन अनुमति (नो अब्जेक्सन लेटर –एनओसी) लिनेको संख्या घटे पनि अध्ययनकै लागि बाहिरिने रकम बढेको हो ।