नेपाली

नेपालमा बाढी पहिरोको क्षतिपछि डेढ सय मेगावाट मात्रै बिजुली निर्यात

criPublished: 2024-10-11 16:10:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालले भारतमा दैनिक ९ सय मेगावाट हाराहारिमा विद्युत बिक्री गरिरहेकोमा बाढी‍ पहिरोपछि निर्यात परिमाण खुम्चिएको छ।पछिल्लो समय डेढ सय मेगावाट बिजुली मात्रै निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बाढीपहिरो कारण विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा क्षति पुगेको छ। अहिले करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द भएको उल्लेख छ।

प्राधिकरणले गत साउन र भदौमा भने देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा भारतमा सात अर्ब ५४ करोड ६१ लाख रूपैयाँको विद्युत निर्यात गरेको हो।

साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको हो। भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रूपैयाँको विद्युत निर्यात गरेको हो। साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो। भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत निर्यात गरिएको हो।

दुई महिनाको विद्युत निर्यातको औसत दर प्रतियुनिट सात रूपैयाँ ३३ पैसा रहेको छ। साउनको प्रति युनिट औसत दर ८ रूपैयाँ ११ पैसा थियो भने भदौमा ६ रूपैयाँ ६२ पैसा रहेको सेतोपाटी अनलाइनले जनाएको छ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ। सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू)मा हुने गरेको छ। त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताउनुभयो।

‘चालू आवमा करिब ३० अर्ब रूपैयाँको विद्युत निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत केन्द्र र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा विद्युत उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ।

प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।

गत आर्थिक वर्ष भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो। सोही वर्ष १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो। गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।

Share this story on

Messenger Pinterest LinkedIn