नेपाली

दुई महिनामा ७ अर्ब ५४ करोड रुपियाँको विद्युत् निर्यात

criPublished: 2024-10-10 16:16:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपियाँ विद्युत् निर्यात गरेको छ । भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपियाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसत दर आठ रुपियाँ ११ पैसा थियो भने भदौमा छ रुपियाँ ६२ पैसा रहेको थियो ।

भदौ तेस्रो सातामा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपियाँ विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्तामा ६९ करोड आठ लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपियाँ (भारु) मा हुने गरेको छ । त्यसैले चालु आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारतीय रुपियाँ बराबरको विद्युत् बिक्री भएको गोरखापत्र अनलाइनले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताउनुभयो ।

“चालु आवमा करिब ३० अर्ब रुपियाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौँ, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु-याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,” उहाँले बताउनुभयो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीपहिरोभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरोका कारण सञ्चालनमा रहेको सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपियाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब छ करोड रुपियाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपियाँको बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

Share this story on

Messenger Pinterest LinkedIn