नेपाल-चीनको सीमा क्षेत्रमा पर्ने रसुवा जिल्लामा पर्यटकको चहलपहल
नेपाल र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको रसुवा क्षेत्रमा पदयात्री पर्यटकको चलपहल बढेको छ। रसुवामा पर्यटकका लागि असोज–कात्तिक र चैत–वैशाख अत्यन्त उपयुक्त मानिन्छ। पदयात्रीका लागि विश्वप्रख्यात नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ पदमार्गसहित गोसाइँकुण्ड, पार्वतीकुण्ड, नागथली, गणेश हिमाललगायत क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ ।
‘पदयात्री पर्यटन कोभिड–१९ अघिको स्थितिमा अझै पुगिसकेको छैन तर सुधारोन्मुख हुँदै गएको छ । मध्य असोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष दीपक महतले जानकारी दिनुभयो। रसुवा प्रवेश गर्ने एकमात्र सडकमार्ग पासाङल्हामु राजमार्गको कालिकास्थान–स्याफ्रुबेँसी सडक खण्डमा जीर्ण बन्दै गएकाले पर्यटकलाई सहज यात्रामा बाधा पुगेको छ ।
जिल्ला प्रवेश गर्ने सडकमार्गलाई सुरक्षित एवम् व्यवस्थित बनाए पदयात्री पर्यटकलाई वृद्धि हुने देखिन्छ। पथप्रदर्शकलाई जैविक विविधता र पर्यावरणबारे अभिमुखीकरण गर्न आवश्यक रहेको टानका पूर्वअध्यक्ष महतको भनाइ छ। रसुवा जिल्ला आफैमा धर्म गर्ने मठ मन्दिर ताल तलैया भएकाले पनि हिउँद लागेसँगै धार्मिक तथा पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएको छ ।
यहाँ दैनिक ३०–३५ विदेशी पर्यटक आउन थालेको होटेल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताउनुभयो। पदयात्रीका लागि उपयुक्त मौसम तथा याम सुरु भएसँगै हिमाली क्षेत्रका होटल व्यवसायीले अत्यावश्यक खाद्यान्न ढुवानीका साथै होटेल सुदृढ गर्ने काम थालेको अध्यक्ष गजुरेलले बताउनुभयो। वर्षा कम भएपछि साउन–भदौमा झन्डै तीन हजार ६० बाह्य पर्यटकसहित करिब १० हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटक हिमाली जिल्लामा आएको लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो।
देशकै नमुनाका रूपमा निर्माण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको संरचना सबै सुरुङभित्रै निर्माण गरिएको छ। लाङटाङ र गणेश हिमाल, ऐतिहासिक रसुवागढी किल्ला, झरना, नागबेली पहाड, तामाङ सम्पदामार्ग, तामाङ सङ्ग्रहालय, नेपालकै पहिलो चिज उत्पादन केन्द्रलगायत स्थलमा पर्यटक आकर्षित हुने गरेको संघका अध्यक्ष गजुरेलले बताउनुभयो।
महत्त्वपूर्ण प्राकृतिक र मानव निर्मित सम्पदाका अलावा धार्मिक महत्त्वका नीलाद्री हिमाल, शिवको वासस्थान गोसाइँकुण्ड, देवी पार्वतीको वासस्थान पार्वतीकुण्डलगायत स्थानले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । गत्लाङ, तामाङ पदमार्गअन्तर्गतका गोलजुङ, गत्लाङ, नागथली, चिलिमेलगायत क्षेत्रका स्थानीय खाना परिकारले पर्यटकको आकर्षण बढाएको छ । जिल्लामा भित्रिएका पर्यटकको सुरक्षाका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले बताइन् ।
कारोबार अनलाइनका अनुसार गत हप्ताको बाढीपहिरोका कारण चीनसँगको प्रमुख नाकामध्येको रसुवागढीबाट आयात–निर्यात शनिबारदेखि बन्द भएको छ। उक्त नाकाको चीनतर्फको भन्सारमा गत बिहीबार रोकिएका ८६ मालवाहक कन्टेनर भने मंगलबार नेपाल आइपुगेको छ। गत शुक्रबार र शनिबारको वर्षात्ले चीनको केरुङ क्षेत्रको सडकमार्गको एक दर्जनभन्दा बढी स्थानमा पहिराले क्षति पुर्याएको छ ।
नेपालतर्फको रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मको १७ किलोमिटर सडक क्षेत्रको पहिरो पन्छाई मंगलबारदेखि यातायात पुन: सञ्चालन गरिएको छ । उक्त क्षेत्रको तातोपानी र भन्सार कार्यालयबिचको खोल्सामा मंगलबार राति सुक्खा पहिरो गएका कारण बुधबार दिनभर सडक बन्द भएको भन्सार प्रमुख तुलसी भट्टराईले बताउनुभयो।
नेपालतर्फभन्दा चीनको भूभागमा गत हप्ताको बाढीपहिराले सडकमार्गलाई बढी क्षति भएको केरुङ प्रशासनले बताएको जनाइएको छ । रसुवागढीमा बन्दै गरेको भन्सार कार्यालयको भवनलाई माथिबाट खसेको पहिरो र तल भोटेकोशीले क्षति पुगेको छ। चीनतर्फ चार दिनदेखि भन्सार बन्द भएकाले मानिस आवतजावत र सवारीसाधन पूर्ण रूपले रोकिएको छ।