पोखरामा हुने तेस्रो पर्वतीय क्रसकन्ट्री दौडमा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने
पोखरामा तेस्रो पटक अन्तराष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम फोरमले कात्तिक २२ देखि २५ सम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिताका प्रेस संयोजक प्रतीकराज पहारीले दौड, साइक्लिङ र बोटिङ गरी ५० किलोमिटरको दुरी पार गर्नुपर्ने जनाएको कान्तिपुर अनलाइनले लेखेको छ । प्रतियोगिता सफल बनाउन १५ उपसमिति गठन गरिएको छ । यो खेलले पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमासमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ । नेपाल–चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास गरिएको संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो।
चिनियाँ खेलाडीका लागि कात्तिक २२ मा कुङमिङबाट पोखरासम्म अन्तराष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको छ । काठमाडौं तथा नेपालका विभिन्न ठाउँबाट आउने प्रतियोगीका लागि आयोजकले यातायात व्यवस्था गर्ने जनाएको छ । प्रतियोगीले टिम समूह, च्यालेन्ज इन्डिभिजुयल समूह, विद्यार्थी दौड र ह्याप्पी रनमध्ये जुनसुकैमा पनि भाग लिन सक्नेछन् । टिम समूहमा ३० मिश्रित टिम रहनेछन् । यसमा कम्तीमा एक विपरीत लिंगको सदस्य समेटिएको हुनुपर्नेछ । ९० खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ चरण पूरा गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले २२५८ मिटर उचाइ पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क प्रति टिम २२ हजार ९२० रुपैयाँ (१२०० आरएमबी) रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । च्यालेन्ज इन्डिभिजुयलमा करिब २ सय खेलाडी सहभागी हुने छन् । जसमा ८० चिनियाँ र १२० नेपाली रहनेछन् । ५० किलोमिटरको ट्रेलमा २ हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । गेममा सहभागी हुने विदेशी खेलाडी खेलाडीका लागि प्रतिव्यक्ति९ हजार ९५० रुपैयाँ (१०० आरएमबी) दर्ता शुल्क लाग्नेछ ।
विद्यार्थी दौडमा ५ सयको सहभागिता रहने जनाइएको छ । उनीहरूले बाराहीचोकदेखि ड्यामसाइटसम्म २ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । ह्याप्पी रनमा ४ सय ८० नेपाली र २० चिनियाँ गरी ५ सय खेलाडी सहभागी हुने अपेक्षा छ । यसको २ किमि दुरी छ ।
टिम समूहको विजेताले ४ लाख ५८ हजार ४ सय रुपैयाँ अर्थात् २४ हजार आरएमबी पुरस्कार पाउनेछ । दोस्रो टिमले ३ लाख ४३ हजार ८ सय र तेस्रो हुने टिमले २ लाख २९ हजार २ सय रुपैयाँ पुरस्कार पाउनेछन् । चौथोले १ लाख ५२ हजार ८ सय र पाँचौंले ९५ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको छ ।
च्यालेन्स समूहमा शीर्ष १० पुरुष तथा महिलाले पुरस्कार जित्नेछन् । विजेताले १ लाख ५२ हजार ८ सय, दोस्रोले १ लाख १४ हजार ६ सय र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि सातौ हुने खेलाडीले ३८ हजार २ सय र आठौदेखि दसौ स्थान प्राप्त गर्नेले १९ हजार १ सय रुपैयाँ पुरस्कार छ ।
विद्यार्थी दौडमा शीर्ष ६ (छात्र/छात्रा दुवै) खेलाडीका लागि नगद रहेको छ । विजेताले ३० हजार, उपविजेताले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । चौथोदेखि छैटौं हुने खेलाडीले १०–१० हजार पाउनेछन् । प्रतियोगिता लेकसाइडको बाराहीघाटबाट सुरु हुनेछ । छोरेपाटन हुँदै फुस्रेखोला, राम्दी, मट्टीखान, स्याङ्जाको फेदीखोला, रामकोट कविन्डे हुादै पुम्दीभुम्दी, विश्व स्तुपा, फेवाताल, खपौदी हुँदै पुनः बाराहीघाटमा नै आउनेछन् । फेवातालमा बोटिङ अनि राम्दी र मट्टीखानमा साइकल प्रयोग गर्नेछन् । चिनियाँ राजदूतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरको आर्थिक सहयोग रहने प्रतियोगितामा १ करोड ३६ लाख खर्च रुपैयाँ खर्च अनुमान गरिएको संस्थाका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो।