नेपालको उत्तरी मुक्तिनाथ क्षेत्रमा ‘हाइ अल्टिच्युड’उपचार केन्द्र सञ्चालन
प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०र८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताउनुभयो ।
लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ । लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ । लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन्छ । मुक्तिनाथको दर्शन गरेपछि मोक्ष प्राप्त हुने विश्वासका साथ तीर्थयात्री दर्शन र पूजाआजाका लागि आउने पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । अनुकूल मौसम, सडक यातायतको सहजता, होटल तथा लजको सुविधा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत स्वदेश तथा विदेशका उच्च पदका व्यक्तित्वको भ्रमण आदिका कारण मुक्तिनाथमा तीर्थालुको आगमन बढेको छ।
आव २०८०र८१ मा सडकमार्ग भएर चार लाख २७ हजार जना पर्यटक भित्रिएको मुस्ताङमा केही दिनअघि सकिएको सोह्रश्राद्धको समयमा २० हजार जना आएका जिल्ला प्रहरी कार्यालयको अभिलेख छ । मुस्ताङ भित्रने अधिकांश पाहुनाको गन्तव्य मुक्तिनाथ मन्दिर हो । सोह्रश्राद्धमा कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास छ।
मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा [जसको अर्थ हुन्छ ‘सय पानी’]का रूपमा लिन्छन्। मुक्तिनाथ परिसरको १०८ धाराको पानी मिसिने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण यसको धार्मिक महत्व छ। हिन्दू धर्मावलम्बीले शालिग्रामलाई विष्णु भगवान्को अवतारका रूपमा पुज्ने गर्छन्।