दसैँ सुरु भएपछि बजारमा चहलपहल, अर्थतन्त्र चलायमान
नेपालीको महान चाड दसैँ सुरु भएसँगै नेपाली बजारमा चहलपहल छाएको छ भने अर्थतन्त्र चलायमान भएको छ। नयाँ कपडा किन्ने, अन्य सामग्री खरिदबिक्री गर्ने हुँदा बजारमा किनमेल वृद्धि भएको हो। घरमा जाँदा उपहारस्वरूप केही सामान किनेर लैजाने हुँदा पनि अन्य समयको तुलनामा दसैँमा बजारमा चहलपहल बढ्ने गर्छ । वर्षभरिमा हुने व्यापारमध्ये दसैँमा मात्रै ३० प्रतिशत व्यापार हुने गर्छ, जसकारण चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ । आर्थिक गतिविधि सक्रिय हुने, बजारमा माग र आपूर्ति बढी चाडपर्वकै बेला हुने गर्छ । यसपालिको दसैँ सुरु भए पनि व्यापार व्यवसायमा गएका वर्ष जस्तो उत्साह देखिँदैन। व्यवसायीका अनुसार बजारमा माग न्यून हुँदा कारोबार बढ्न सकेको छैन । बाढीपहिरो आएकाले पनि व्यापार बढ्न नसकेको हो । दसैँमा कारोबार आधा घटेको छ । उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा पनि बजारमा माग कम हुने हुँदा व्यापार फस्टाउन सकेको छैन।
राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले बाढीपहिरोका कारण दसैँमा व्यापार बढ्न नसकेको बताउनुभयो । उहाँका अनुसार अन्य समयको तुलनामा दसैँमा दोब्बर कारोबार हुने गरेकोमा यसपालि धेरै मानिस विदेश गएको र बजारमा माग नै कम हुँदा कारोबार बढ्न नसकेको हो । चाडपर्वमा विशेष गरी दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, नयाँ सवारीसाधन, भाँडावर्तन, मोबाइल, मसलालगायतका सामानको व्यापार बढी हुनेगर्छ। सडकपेटीदेखि ठुलठुला व्यापारिक मलमा अफरसँगै, सेलमा सामान बिक्रीमा राखेका छन्।
दसैँमा सरकारी, गैरसरकारी, निजी कार्यालय र प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई तलबबाहेक दसैँ भत्ता पनि दिइने भएकाले खर्च बढ्ने गर्छ । अन्य समयको तुलनामा दसैँमा विदेशमा रहेका नेपालीले पनि रेमिट्यान्स धेरै पठाउने गर्दा अर्थतन्त्र चलायमान हुने गर्छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले दसैँमा व्यापार व्यवसाय बढ्ने हुँदा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । उहाँले बाढीपहिरोका कारणले आममानिस पीडामा रहेकाले पनि विगतका वर्षको तुलनामा कारोबार न्यून रहेको बताउनुभयो ।
गोरखापत्र अनलाइनका अनुसार चाडपर्वमा बजारमा सामानको खपत बढी हुने हुँदा विभिन्न व्यापारिक कम्पनीले दसैँलक्षित विविध अफरसँगै छुट योजना ल्याएका छन् । दसैँमा अफर दिनका लागि कम्पनीबिच होडबाजी हुने गर्छ । सरकारी कम्पनीसँगै निजी कम्पनीले त्यस्ता अफर योजना सार्वजनिक गरेका छन्।
यसैगरी दसैँमा उपभोक्तालाई सहुलियत दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङले उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गरेका छन् । कम्पनीले उपत्यकाको थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान बिक्री गरिरहेको छ । उपत्यकाबाहिर ४३ जिल्लाबाट सुपथ मूल्य पसल सञ्चालन गर्नुका साथै कम्पनीले अनलाइन अडरमार्फत होम डेलिभरीको व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएकोमा यस वर्ष सुकिला नोट वितरण गरेको छ। विगतका वर्षहरूमा दसैँ, तिहार र छठका लागि राष्ट्र बैङ्कले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले राष्ट्र बैङ्कले सुकिला नोट वितरण गरेको हो । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि व्यवस्थापन वितरण गरिएको बैङ्कले जनाएको छ ।
प्रविधिको विस्तारसँगै पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदै गएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रण गर्न गरिएको लकडाउनपछि अनलाइन व्यापार थप बढ्दै गएको थियो । त्यसपछि क्रमिक रूपमा अनलाइन व्यापार फस्टाउँदै गएको छ । उपभोक्ताले अनलाइनबाट सामान अडर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । दराज, फुडमान्डु, सस्तो डिजललगायतका अनलाइनबाट व्यापार बढ्दै गएको छ । टिकटकमार्फत सामान देखाएर पनि ग्राहकको अडर अनुसार सामान बिक्री गर्ने गरेका छन् ।