नेपाली

नेपालको उत्तरी मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल

criPublished: 2024-10-05 14:50:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ ।

गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ । केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए। तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए । पर्यटन व्यवसायी समितिका जिल्ला अध्यक्ष विनोद गुरुङले भन्नुभयो, “यो महिना पदयात्राका लागि उपयुक्त महिना हो। त्यसैले पर्यटकको आगमन बढेको छ ।”

चामे गाउँपालिका–५ चामेका पर्यटन व्यवसायी उषा लामाले मौसम अनुकूल बन्दै गएपछि पर्यटकक्रम बढेको बताउनुभयो। यस याममा मनाङ आउने पर्यटक घुम्नका लागि तिलिचो ताल पुग्ने गरेका छन् । उच्च हिमाली क्षेत्रको मौसम परिवर्तन भइरहने हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।

राससका अनुसार मुस्ताङमा पनि बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही दिनयता आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटकको आगमन बढेको बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn