नेपाली

‘लुम्बिनीमा पर्यटनको सम्भावना प्रचुर’

criPublished: 2024-09-30 16:03:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै प्राकृतिक, धार्मिक, सांस्कृतिक हिसाबले सम्भावना रहेको बताउनुभएको छ।

४५औं विश्व पर्यटन दिवसका अवसरमा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र घोराही उपमहानगरपालिकाले संयुक्त रूपमा घोराहीमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो। पर्यटको धनी क्षेत्र लुम्बिनी भएको उहाँको भनाइ छ । धार्मिक, प्राकृतिक एवं सांस्कृतिक विविधता सवै दृष्टिकोणले लुम्बिनी देशभरमै उत्कृष्ट पर्यटकिय गन्तव्यका रूपमा रहेको भन्दै मुख्यमन्त्री आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन आवश्यक रहेको बताउनुभयो।

पर्यटन क्षेत्रबाट समृद्धि प्राप्त गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक बढाउन आवश्यक रहेको भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भ्रमणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै क्षेत्रलाई आग्रह गर्नुभयो। लुम्बिनी प्रदेशमा पर्यटकको आगमन बढाउनका लागि प्रदेश सरकारले ‘लुम्बिनी घुमौं अभियान’ सुरु गरेको भन्दै सबै मिलेर अभियानलाई व्यापक बनाउनु पर्ने उहाँले बताउनुभयो।

लुम्बिनी घुम्न आउने पर्यटकको बसाइँलाई बढाउँदै यस क्षेत्रको विकासमा सहयोग पुर्‍याउनका लागि प्रदेशका १२ वटै जिल्लालाई समेटेर पर्यटन सर्किट बनाउन लागेको मुख्यमन्त्री आचार्यले बताउनुभयो। ‘लुम्बिनी आउने पर्यटकलाई १२ जिल्लाको भ्रमण गराउने गरी पर्यटन सर्किट बनाउने गरी काम भइरहेको छ । त्यसका साथै यस क्षेत्रमा विदेशी पर्यटक कसरी बढाउन सकिन्छ भनेर अन्तर्राष्ट्रियस्तरमा पनि समन्वय भइरहेको छ,’ उहाँले भन्नुभयो।

प्राकृतिक रूपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने मुख्यमन्त्री आचार्यको भनाइ थियो।

Share this story on

Messenger Pinterest LinkedIn