नेपाली

नेपालको राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा

criPublished: 2024-09-29 15:38:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ। सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागको जनजीवन अस्तव्यस्त भएको छ। पछिल्लो २४ घण्टामा मात्र बाढीपहिरो र

डुबानमा परी ९० जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता छन्। देशका विभिन्न भागबाट दुई हजार ८६० जनाको उद्धार गरिएको छ।

सबैभन्दा बढी जनधनको क्षति काठमाडौँ उपत्यकामा भएको छ । यहाँ ३४ जनाको मृत्यु र २१ जना बेपत्ता भएको जानकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख किरण वज्राचार्यले दिनुभयो । बाढी र डुबानमा फसेका एक हजार ४५७ जनाको उद्धार गरिएको छ ।

त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ र धादिङको सिमानामा पर्ने नौबिसे सडकखण्डको झ्याप्ले खोलामा गएको पहिरोमा तीन वटा बसका १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार आठ पुरुष, पाँच जना महिला र एक बालक रहेका छन् ।

पहिरोमा एउटा हायस र अर्को भारतीय नम्बरको मालबाहक ट्रकलाई पनि पुरिएको अवस्थामा फेला पारिएको छ । यसै गरी सबैभन्दा बढी वर्षा मापन भएको काभ्रेपलाञ्चोकमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार बालबालिकासहित १० जनाको सनाखत हुन बाँकी छ। मकवानपुरमा सात जनाको मृत्यु भएको छ । बागमती–३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर फूलमाया थिङको मृत्यु भएको छ । मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३, टेकरस्थित वत्सला माविस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणमा रहेका छ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार छ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिने भएको छ । एन्फाका अनुसार दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदिप्य बालमपाकी बेपत्ता भएका थिए ।

दोलखाको भीमेश्वर–६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । चरीकोटस्थित सिमपानीमा गएको पहिरोले राजकुमार भुजेलको घर पुर्दा राजकुमार भुजेल उहाँकी श्रीमती राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो ।

कोशी प्रदेशमा दस जनाको मृत्यु भएको छ भने थप नौ जना बेपत्ता छन् । पाँचथरमा मात्र पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता छन् । धनकुटामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । यस्तै धादिङमा एक र सिन्धुपाल्चोकमा चार जनाको मृत्यु र पाँच जना बेपत्ता छन् । सोलुखुम्बुमा दुईको मृत्यु भएको छ, सुनसरीमा एक जनाको मृत्यु र नौ जना बेपत्ता छन् । चितवनमा तीन जना र रुपन्देहीमा दुई जना बेपत्ता छन् ।

गोरखापत्र अनलाइनका अनुसार राजधानीमा हालसम्मकै भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी (२३९.७ मिलिमिटर) वर्षा मापन भएको छ । यसअघि विसं २०५९ साउनमा १७७ मिलिमिटर वर्षा मापन भएको थियो । पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा २८१.८ मिलिमिटर वर्षा मापन भएको झाले जानकारी दिनुभयो । यसै गरी बागमती प्रदेशपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पाको अर्चलेमा २४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी गण्डकी प्रदेशको तनहुँ विमलनगरमा २१०.२, कोशी प्रदेशको धनकुटामा २०९, मधेश प्रदेशको बारा कोल्बीमा २०२, कर्णालीको सुर्खेतमा ४९.५ र कैलालीमा ४२ मिलिमिटर वर्षा मापन भएको छ ।

Share this story on

Messenger Pinterest LinkedIn