नेपाली

विदेशी विनिमय सञ्चिति, हालसम्मकै अधिक

criPublished: 2024-09-28 15:30:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

समग्र अर्थतन्त्रमा बाह्य क्षेत्रमा देखिने गरी सुधार हुन थालेसँगै यतिबेला मुलुकमा विदेशी विनिमय सञ्चिति अधिक मात्रामा थुप्रिएको छ। परिणामस्वरूप अहिलेसम्मकै उच्च विदेशी मुद्रा थुप्रिएको हो। यसले गर्दा मुलुकमा साढे १३ महिनाको वस्तु तथा आयात गर्न सक्ने क्षमता बनेको छ। जबकि हिजोको दिनमा कोरोनाकालमा ६ महिनासम्म मात्रै आयात धान्न सक्ने अवस्था थियो। जसले गर्दा मुलुक श्रीलंका होला भन्ने आशंका पनि गरिएको थियो। तर अहिले परिस्थिति धेरै सबल बनेको तर अधिक विदेशी मुद्रा सञ्चितिको समयमै सदुपयोग नगरे मुलुकलाई हानि पुग्ने सरोकारवालाहरू सुझाव दिन्छन्।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) सम्ममा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रुपैयाँ हो। सो सञ्चिति गत साउनको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको छ। गत आव २०८०/८१ साउनसम्ममा १५ खर्ब ७३ अर्ब रुपैयाँ हाराहारीमा थियो। अझ गत असारको तुलनामा साउन महिनामा एक महिनाको अन्तरमा मात्रै आधा खर्ब अर्थात् ५१ अर्ब हाराहारीमा विदेशी मुद्रा थपियो। हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ८३ अर्ब ४२ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ८ अर्ब ७९ करोड कायम छ। उक्त कुल विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ। केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए। अन्नपूर्णपोस्ट अनलाइनका अनुसार यसअघिका केही आवमा सञ्चिति वृद्धिदर घटेको अवस्थामा पनि थियो।

Share this story on

Messenger Pinterest LinkedIn