नेपाली

७ वैशाख अब ‘राष्ट्रिय याक दिवस’

criPublished: 2024-09-19 20:26:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ लाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ३० भदौमा मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभएको थियो। याक तथा चौँरी संरक्षण, सम्वर्द्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषिमन्त्री अधिकारीले बताउनुभएको अनलाइनखबर डटकमले लेखेको छ।

याक दिवस घोषणाले याकजन्य वस्तुको गुणस्तरीयता वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरी विकास र प्रवद्र्धनमा सहयोग पुग्ने तथा यसको संरक्षण, प्रवद्र्धन र विकासमा सघाउ पुग्ने विश्वास लिइएको मन्त्री अधिकारीको भनाइ छ।

मन्त्रालयका अनुसार जंगली याकसँग स्थानीय गाईको ‘क्रस’गरी घरपालुवा चौँरी विकास गरिने भएकाले जंगली याक संरक्षण आवश्यक रहेको हो। नेपालमा उत्पादन हुने विश्वप्रसिद्ध याक चिज ‘ओमेगा–३’फयाट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, चौँरीको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रही आएको छ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तु सूचीमा राखेको छ। याक आनुवंशिक स्रोत केन्द्रले ७ वैशाखलाई ५०औं स्थापना दिवस ‘स्वर्ण जयन्ती’का रूपमा मनाउने सन्दर्भमा याक तथा चौँरी संरक्षण र सम्वर्द्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो।

Share this story on

Messenger Pinterest LinkedIn