नेपाली

नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

criPublished: 2024-09-18 19:08:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको गोरखापत्र अनलाइनले लेखको छ।

गत साउन महिनामा विभिन्न देशका लगानीकर्ताले ५९ परियोजनामार्फत आठ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेका थिए। भदौ महिनामा सबैभन्दा धेरै सूचना प्रविधिमूलक परियोजना, पर्यटन र सेवामूलकमा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। यस्तै भदौ महिनामा सबैभन्दा धेरै स्वचालित मार्गबाट ८६ करोड २५ लाख रुपियाँ आएको छ। ५२ वटा परियोजनामार्फत सो रकम भित्रिएको हो। स्वचालित मार्गबाट सबैभन्दा धेरै सूचना प्रविधिमूलक ३८, पर्यटनमूलक आठ, सेवामूलक तीन, उत्पादनमूलक दुई र पूर्वाधारमूलक एक परियोजनामा लगानी भित्रिएको हो। चालु आवको भदौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट र प्रविधि हस्तान्तरण शीर्षकमा थप ५९ करोड ६२ लाख ६२ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ।

यसैबिच आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा आठ अर्ब ४० करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। आव २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो।

विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ३६४ परियोजनामार्फत पाँच खर्ब २५ अर्ब १५ करोड ८७ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। नेपालमा लगानी गर्छु भनेर लगानीकर्ताले प्रतिबद्धता गरे पनि सो अनुपातमा रकम नभित्रिने गरेको बताइएको छ। प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको तथ्याङ्क छ। नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो। औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको तथ्याङ्कले देखाएको छ। मुलुकमा भित्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको तथ्याङ्क छ।

Share this story on

Messenger Pinterest LinkedIn