नेपाली

बाँसका सामान बनाउन भ्याइनभ्याई

CRIPublished: 2024-09-14 15:53:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चाडपर्व नजिकिएसँगै बाँसका सामान बनाउन भ्याइनभ्याई हुन थालेको छ। रामधुनी ३ बुद्धनगरका रामस्वरुप मरिकको परिवारलाई चाडपर्व नजिकिएसँगै बाँसका सामानहरू बनाएर तयारी गर्न व्यस्त हुन थालेका छन्। मरिक परिवारले बाँसबाट बन्ने सामानहरू बनाएर जीविका चलाउँदै आएका छन्।

सानै उमेरदेखि नै बाँसबाट बन्ने सामान बनाएर बिक्री गर्दै आउनुभएको रामस्वरु र उहाँको परिवार बिहानदेखि बेलुकैसम्म बाँसका सामानहरू बनाउन व्यस्त रहनुहुन्छ। बाउबाजेले गरिआएको पुर्ख्यौली पेसा भएकाले पेसालाई निरन्तरता दिँदै आएको मरिकको भनाइ रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

‘‘अर्को पेसा रोज्न सकिएन आफूले जानेको सिप यही बासको सामान बनाउनु हो।,’’ मरिकले भन्नुभयो। सिङ्गो मरिक परिवारमै बाँसको सामान बनाउने सीप छ। बुहारी चन्दा, पूजा मरीक पनि दैनिक घरको काम सकेर ढाकी, कुनीया लगायताका सामान बनाउनुहुन्छ।

गिरिजा मरिकले बासबाट कुनीया, ढकी, भकारी, पङ्खा, कोठी, बिरुवा छोप्ने ढोकसा जस्ता सामानहरू बनाउँदै आएको बताउनुहुन्छ। ५६ वर्षीय गिरिजाका साथै उहाँका चार बुहारीहरूले पनि सामान बनाउन सहयोग गर्दै आउनुभएको छ। बुहारी र सासू भएर कुनीया, ढाकी, पङ्खालगायत बासका सामानहरू बनाउँदै आएको उहाँ बताउनुहुन्छ।

वर्षको छ महिना बाँसका सामग्रीबाट मरिक परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ। वर्षैभरि बाँसका सामान बनाउने भए पनि वैशाख, असोज, कात्तिक, माघ, फागुन र चैतमा बासको सामान बढी बिक्री हुने गरेको मरिक परिवारले बताउनुभयो। हातमा सीप भएपछि कामको खाँचो नभएको गिरिजा बताउनुहुन्छ।

पहिला तीन रुपियाँ गोटा बाँस किनेर सामानहरू बनाउँदै आउनुभएका रामस्वरुपले अहिले दुई सय रुपियाँ प्रति गोटा बाँस खरिद गर्दै आएको सुनाउनुभयो।

‘‘मेरो परिवारका लागि बाँस नै भगवान् हो। बाँसले गर्दा नै परिवारको लालन पालनदेखि शिक्षासम्म दिन पाएँ। बाँसको सामानबाट मासिक ३० देखि ३५ हजार रुपियाँसम्म कमाई गर्दै आएको छु।’’ मरिक भन्नुहुन्छ, ‘‘यही पैसाले ६ छोरा छोरीको विवाह दान गरियो। सिजनको बेला सामानको माग बढी हुने भएकाले राती पनि काम गर्ने गरेका छौँ।’’

रङ्गिन ढकी थारु समुदायहरूको विवाहमा राम्रै बिक्री हुने गरेको गिरिजाको भनाइ छ। उहाँहरूले बनाएको सिङ्गल बिट भएको एउटा ढकी चार सय र डबल बिट भएको सात सय रुपियाँसम्म बिक्री हुने गरेको छ। पङ्खा एक सय रुपियाँमा बिक्री हुने गरेको छ भने भकारी तीन हजार देखि चार हजार र कुनीयाको एक १५० देखि तीन सयसम्म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn