बढ्यो रसुवागढी मार्गबाट मानसरोवर कैलाश जानेको सङ्ख्या
गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए। उनीहरूको साथमा करिब दुई सय अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ ।
धार्मिकयात्रीमध्ये काठमाडौंबाट टिमुरे तथा स्याफ्रुबेँसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो। मानसरोवर कैलाशयात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट पाइएको छ । नेपालीका लागि कुनै ट्राभल एजेन्सीले एक लाख ३५ हजार रुपैयाँ र कुनैले एक लाख ७० हजार रुपैयाँसम्म लिने गरेको यात्रीले बताएका छन् ।
समुद्र सतहबाट पाँच हजार सात सय मिटरको उचाइमा जानुपर्ने भएका कारण ट्रेकिङ एजेन्सीले ठाउँठाउँमा बास राखी हावापानीको वातावरण मिलाउँदै लाने गरेको र १० दिन अन्तरालमा धार्मिकयात्रा सम्पन्न गराई नेपाल फर्काउने गरेको बताइएको छ । यात्री टिमुरे तथा घट्टेखोला क्षेत्रका होटलमा एक रात बस्ने गरेका कारण सीमावर्ती स्थानका होटल तथा लज व्यवसाय चलायमान भएको व्यवसायीले बताएका छन् ।
टिमुरेको घट्टेखोला तथा स्याफ्रुबेँसीमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निजी जग्गामा मात्र भएकाले हेलिप्याड बनाउने दुई स्थानीयवासीले पनि मनग्य आम्दानी लिन सफल भएका छन्।