नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका औद्योगिक क्षेत्रमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
बुधबार मन्त्रालयमा चिनियाँ व्यवसायीसँगको भेटमा उहाँले नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलताहरू नरहेकाले निर्धक्क भएर लगानी गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनै पनि समयमा आइपरेमा त्यसको समाधानका लागि सरकार प्रतिबद्ध छ ।”
चीनमा भइरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेको धारणा राखेको उहाँको निजी सचिवालयले जनाएको छ । काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भइरहेको र त्यसका लागि लगानीकर्तालाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार तयार बताउँदै उहाँले नेपालमा विदेशी लगानीको वतावरण रहेको बताउनुभयो ।
उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरू नभएकाले उद्योगमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गर्नुभयो ।
विभिन्न क्षेत्रमा लगानी गर्दै आएका चिनियाँ व्यवसायीहरूले नेपालमा लगानीको वातावरणका विषयमा मन्त्री भण्डारीसँग भेटेका हुन् । भेटका क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका गोरखापत्र अनलाइनले जनाएको छ।