चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा बन्दरगाह निर्माणको काम पैँसट्ठी प्रतिशत सम्पन्न
रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने छ । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ । बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् ।
रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विसाखापटनमा हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीहरू बताउँछन् । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म लाग्ने गरेको छ । रसुवा नाकाबाट सामान आउँदा सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।