नेपालद्वारा साउनमा ४ अर्ब १९ करोड रुपैयाँको बिजुली निर्यात
नेपालले चालु आर्थिक वर्षको साउन महिनामा ४ अर्ब १९ करोड रुपैयाँको बिजुली भारतलाई बेचेको छ। नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको कान्तिपुर अनलाइनले लेखेको छ।
प्राधिकरणका अनुसार साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ। त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ। साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८/९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरूमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो। प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ति जाने आउने गरेतापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था नरहेको उहाँको भनाइ छ।
‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रुपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिने छ,’ उहाँले भन्नुभयो। वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमासमेत सकारात्मक योगदान पुगिरहेको घिसिङले बताउनुभयो।