नेपाली

चालु वर्षको पहिलो महिनामा नेपालमा निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

criPublished: 2024-08-28 16:47:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा २१ अर्ब ६६ करोड ९० लाख ४९ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास) आयात भएको छ। जबकि साउनमा नेपालले करिब १२ अर्ब रुपियाँको मात्रै वस्तु निर्यात गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात बढी देखिए पनि समग्रमा पेट्रोलियम आयात भने घटेको छ। विभागका अनुसार गत साउनको तुलनामा नेपालले करिब ३० करोड रुपियाँभन्दा कम पेट्रोलियम आयात गरेको छ। गत साउनमा नेपालले २१ अर्ब ९८ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो।

चालु आवको पहिलो महिनामा सबैभन्दा धेरै छ अर्ब ९८ करोड ७१ लाख रुपियाँ बराबरको ७२ हजार किलोलिटर डिजेल आयात भएको छ। त्यस्तै पाँच अर्ब ६९ करोड रुपियाँ बराबरको ५९ हजार ६४४ किलोलिटर पेट्रोल आयात भएको तथ्याङ्क छ।

चार अर्ब ८२ करोड रुपियाँ बराबरको ४५ हजार ७३५ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात हुँदा एक अर्ब २० करोड रुपियाँको १२ हजार ४७२ किलोलिटर हवाई इन्धन आयात भएको छ। यस्तै ६३ करोड ४३ लाख रुपियाँ बराबरको ६५६ किलोलिटर मटितेल आयात भएको विभागले जनाएको छ।

डिजेल/पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन, ग्यासबाट चल्ने चुलो र हिटरको सट्टा विद्युतीय चुलो र हिटर, एसीलगायतका कारण नेपालमा पेट्रोल र ग्यासको खपत घट्दै गएको तथ्याङ्कले देखाएको छ। साउनमा पेट्रोलियम पदार्थ आयात गरेर आठ अर्ब २७ करोड ८९ लाख राजस्व सङ्कलन भएको छ।

पेट्रोलियम पदार्थको आयातले व्यापार घाटा बढ्ने गर्छ। साउनमा कुल व्यापार घाटा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँ रहेकोमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ रहेको छ। मुलुकमा उत्पादन नहुने पेट्रोलियम पदार्थ छिमेकी मुलुक भारतबाट आयात हुने गर्छ। नेपालले साउनमा गलैँचा, टेक्सटाइल, फलाम, स्टिलजन्य उत्पादन, चिया, कफी निर्यात गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn