नेपाली

सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

criPublished: 2024-07-16 16:51:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसारमा द्रुततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरुले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेश गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो।

“विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि पछिल्ला बर्षहरुमा सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र यसमा नेपालको युवा बर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ,” उहाँले भन्नुभयो।

अहिले ठूलो सङ्ख्याका युवाहरु सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उहाँको तर्क थियो।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक बर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसङ्ग उल्लेख गर्दै यसका लागि यसै बमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिनुभयो। सूचना प्रविधि अहिलेको समाजको जीवन भइसकेकाले संसारले पनि यसै बमोजिम अङ्गीकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको बताउँदै अध्यक्ष ढकालले भन्नुभयो, “नेपालमा पनि मेडिकल, इञ्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएका छ।”नेपालमा अहिले करिब ५०० सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका क्लिकमाण्डु अनलाइनले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn