नेपाली

मनाङमा यार्तुङ मेलाको रौनक सुरु

CRIPublished: 2024-07-10 15:45:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको हिमाली जिल्ला मनाङमा जुलाई ९ तारिख मङ्गलवारदेखि यार्तुङ मेला सुरु भएको छ। जम्मा सात टिमले भाग लिएको तारा हान्ने खेललाई ग्राण्ड यार्तुङ २०८१ नाम दिइएको छ। यसलाई यार्तुङ मेलाको नामले पनि चिनिने गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

तारा हान्ने खेलमा जनप्रिय युवा क्लब मुक्तिनाथ मुस्ताङबाट ए र बी गरी दुई टिम, मनाङ ङिस्याङ गाउँपालिकाको तिलिचो युवा क्लब, खाङसार युवा क्लब, ङिस्याङ युवा क्लब मनाङ, भ्राका युवा क्लब, पिसाङ युवा क्लब गरी जम्मा सात टिमले भाग लिएका छन्। टङ्की मनाङ, मनाङ समाज र ङिस्याङ युवा क्लबको संयुक्त आयोजनामा संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङ, टङ्की मनाङ र पर्यटन व्यवस्थापन उपसमिति मनाङको संयुक्त सहयोगमा ग्राण्ड यार्तुङको आयोजना गरिएको हो।

यार्तुङलाई घोडेजात्रा पनि भनिन्छ। यस पर्वमा मनाङेहरू घोडा कुदाएर मनोरञ्जन लिने गर्छन्। पर्यटकीय क्षेत्र भएकाले मनाङमा यार्तुङको विशेष महत्त्व र रौनक हुन्छ। यो मनाङेहरूको मुख्य पर्वमध्ये एक भएकाले विशेष गरी युवाहरू परम्परागत भेषभूषामा सजिएर एक ठाउँमा जम्मा हुन्छन्, परम्परागत बाजागाजा र मौलिक गीत गाउँदै गाउँ परिक्रमा गर्ने चलन छ। यसबिचमा यार्तुङ पर्वको शुभकामना आदानप्रदान गर्ने तथा घोडा कुदाएर मनोरञ्जन लिने गरिन्छ।

पुरुषहरू घोडा कुदाएर फर्कँदा महिलाहरू सगुन, खादा लिएर उनीहरूको स्वागतमा तम्तयार भएर बसेका हुन्छन्। घोडा कुदाउने काम सकिएपछि सबै भेला भएर सगुन खाई नाचगान गरी रमाइलो गर्ने चलन छ।

केही वर्ष अघिसम्म मनाङमा घोडा नै यातायातको साधन थियो। सडक सञ्जालसँग नजोडिँदा एक ठाउँबाट अर्को ठाउँ जान मनाङेहरू घोडा नै प्रयोग गर्थे। अझै पनि मनाङमा घोडाको प्रयोगमा भने कमी छैन। यातायातमा घोडाको प्रयोग बढी हुने र सुखदुःखमा घोडाको साथ हुने हुनाले मनाङेहरू घोडालाई निकै प्रेम गर्छन्। यार्तुङ पर्व त्यही प्रेमको प्रतीक पनि हो।

यार्तुङ कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि मनाङेहरू परम्परादेखि नै यो पर्व मनाउने गरिएको बताउँछन्। कतिपयलाई किन मनाइन्छ भन्ने पनि थाहा छैन। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ– ‘किन मनाइन्छ भन्ने त थाहा छैन, परम्परादेखि मनाउने चलन हो। परम्परा मर्न नदिन हामीले पनि मनाउँदै आएका छौँ।’

यार्तुङ मनाङेहरूको धार्मिक, सामाजिक र सांस्कृतिक धरोहर हो। वर्षायाम सकिन लाग्दा मनाइने भएकाले यस पर्वमा खेतीपाती, बालीनाली राम्रो होस् र रोगव्याधि नलागोस् भन्ने कामनाका साथ यो पर्व मनाइने मनाङ ङिस्याङका पर्यटन व्यवसायी तथा समाजसेवी विनोद गुरुङ बताउनुहुन्छ।

मनाङका विभिन्न भागमा छुट्टाछुट्टै रूपमा यार्तुङ मनाउने गरिन्छ। पछिल्लो समय तल्लो मनाङमा यार्तुङ हराउन थाले पनि माथिल्लो मनाङमा भने यो पर्व जीवितै छ। माथिल्लो मनाङका टङ्की, खाङसार, घ्यारू, ङावल, हुम्डे, भ्राका, पिसाङलगायतका स्थानमा हर्षोल्लासका साथ यो पर्व मनाइन्छ।

Share this story on

Messenger Pinterest LinkedIn