नेपालबाट सिमेन्ट निर्यात चार सय प्रतिशतले वृद्धि
सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० सिमेन्ट उद्योग बन्द रहेको र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेको व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुने र बन्द हुन थालेपछि त्यसमा काम गर्नेको रोजगारीसमेत गुम्ने गरेको छ । देशमा आत्मनिर्भर रहेको सिमेन्ट उद्योग आर्थिक सङ्कटका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र सृष्टि ब्रान्डका नेपाली सिमेन्ट बेहलिया, भैरहवा, नेपालगन्ज नाकाबाट बढी मात्रामा भारतीय बजारमा बिक्री भइरहेका छन् ।
यसैबिच चालु आवको ११ महिनामा मुलुकबाट साढे छ अर्ब रुपियाँ बराबरको प्लाइउड निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म छ अर्ब ६८ करोड तीन लाख ४९ हजार रुपियाँको प्लाइउड निर्यात भएको छ । गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ९७ लाख २४ हजार रुपियाँको प्लाइउड निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा प्लाइउड निर्यात हुने गर्छ ।