नेपाली

नेपाली जुडो खेलाडी मनीताले पेरिस ओलम्पिक खेल्ने

criPublished: 2024-06-27 17:00:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने हुनु भएको छ। आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गर्नु भएको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो। मनीताले महिला ५७ केलिग्राममुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने न्युज पोलार अनलाइले लेखेको छ।

दक्षिण एसियाली खेलकुद (साग) को १२ औँ र १३ औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेल्नु भएको हो। उहाँको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप थियो। त्यसमा मनीताले स्वर्ण जित्नु भएको थियो। मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुनुहुन्छ।

मनीताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा काँस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जित्नु भएको छ। मनीतासँग एसियाली खेलकुदको १८ औँ १९ औँ संस्करण खेलेको अनुभव छ।

पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेल्नु भएको थियो। उहाँ राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहनु भएको छ।

काठमाडौँको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) बाट जुडो खेल्न सुरु गर्नु भएकी मनीता विगत पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध हुनुहुन्छ। उहाँका सुरुआती गुरु टोकियो ओलम्पिक–२०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुनुहुन्छ। पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन्।

ओलम्पिकमा सहभागी हुने मनीता छैटौँ नेपाली जुडो खेलाडी हुनुहुन्छ। यसअघि १९८८ को सिओल ओलम्पिकमा गङ्गाबहादुर डङ्गोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नु भएको थियो।

मनीताले छनोट भएकामा आश्चर्य र खुसी लागेको प्रतिक्रिया दिँदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो। “सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो, पत्याउनै गाह्रो भयो। त्यसपछि सूर्य गुरुको फोन आयो, अनि मात्र विश्वस्त भए। ओलम्पिकजस्तो ठूलो खेलकुदमा छनोट भएकोमा आश्चर्य र खुसी लागेको छ”, मनीताले भन्नुभयो,“पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्नेछु।” पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको सङ्ख्या सात पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn