नेपाली

नेपालका राष्ट्रपति र परराष्ट्रमन्त्रीसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङको शिष्टाचार भेट

criPublished: 2024-06-26 16:04:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ। सो भेटमा दुईपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताउनुभयो। उहाँले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो।

उहाँले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताउनुभएको थियो।

यसैबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबिच पनि शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबिच शिष्टाचार भएको हो। भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो।

उहाँले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गर्नुभयो। साथै नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn