नेपाली

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अन्तिम चरणको काम सुरु

criPublished: 2024-06-24 17:30:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ। आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ) को काम भइरहेको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ। अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए।

एक वर्षभित्र सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “छिचोलिएको सुरुङको ‘लाइनिङ’ को काम दुई तिहाइ सम्पन्न भइसकेको छ। सुरुङको कुुल लम्बाइमध्ये अब ‘लाइनिङ’ गर्न पाँच सय मिटर मात्र बाँकी छ। आपत्कालीन सुरुङमार्गको ‘लाइनिङ’ गरिने छैन।” मुख्य सुरुङमार्ग र आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ क्रमशः दुई हजार ६८८ मिटर र दुई हजार ५५७ मिटर छ।

त्यसै गरी सुरुङमार्गभित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम भइरहेको छ। आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन्।

प्रवक्ता कोइरालाका अनुसार चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ। सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग भइरहेको छ।

उहाँका अनुसार बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ । त्यसै गरी धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।

फ्लाइओभर ६० प्रतिशत सम्पन्न

आयोजनाका इन्जिनियर पदम शर्माले त्रिभुवन राजपथदेखि सुरुङमार्गसम्म जोड्नका लागि बलम्बुमा निर्माणाधीन फ्लाइओभरको निर्माण ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाइओभरको स्टिलको गडर राख्ने काम सम्पन्न भई नटबोल्ट कस्ने काम भइरहेको छ।

एक लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको हुने छ। एउटा लेनको चौडाइ ३.५ मिटरको हुने छ। सो फ्लाइओभरबाट करिब तीन किलोमिटर पहुँचमार्ग (एप्रोच रोड) मार्फत सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलमा पुग्न सकिन्छ। काठमाडौँबाट सुरुङमार्ग भएर जाने

सवारीसाधनले मात्र फ्लाइओभरको प्रयोग गर्न पाउने छन्। सुरुङमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनले सडक मार्गको प्रयोग गर्ने छन्।

निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यसहित फ्लाइओभरको निर्माण भइरहेको छ। फ्लाइओभर निर्माणका लागि सोको क्षेत्राधिकार (राइट अफ–वे) मा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुका साथै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको छ। फ्लाइओभरको क्षेत्राधिकारमा पर्ने जग्गाधनीले प्रतिआना ५२ लाख रुपियाँका दरले मुआब्जा पाएका छन्।

अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुँयालले एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आयोजनाको धादिङतर्फ निर्माण गरिने सर्भिस सेन्टर निर्माणमा समस्या भएको बताउनुभयो। उहाँले अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो बताउँदै माथिका समस्या समाधान गर्न सके सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको विश्वास व्यक्त गर्नुभयो। चन्द्रागिरि नगरपालिका वडा नं. १ का वडा सदस्य केशव गिरीले आयोजनालाई सम्पन्न गर्न आफूहरूको पूर्ण समर्थन रहने बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn