नेपाली

किसान परियोजनाबाट २ लाख ७० हजार बढी किसान लाभान्वित

CRIPublished: 2024-06-21 16:04:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले बिहीबार आफ्नो किसान २ परियोजना सम्पन्न भएको अवसरमा आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो ।

जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी २ लाख ७० हजार ६०० भन्दा बढी किसानहरूलाई सहयोग गरेको छ। यूएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबीचको बलियो साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ।

किसान २ परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६०० कृषि सल्लाहकारहरूलाई किसानहरूलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्‍याउनुका साथै ३५ हजारभन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ।

यस सहयोगले उत्पादन १३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको छ। जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै यूएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्नसक्ने गरी सशक्त बनाएको छ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले यूएसएआईडीको किसान २ परियोजनाले राइस मिल मोडेल र मेज एग्रिगेसन मोडेल प्रस्तुत गरेको बताउनुभयो। यसले मिलवाला र सङ्कलकहरूलाई किसानलाई सहयोग गर्न र उचित मूल्यमा उत्पादन खरिद गर्न मद्दत गर्ने उहाँको भनाइ थियो। सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपाली किसानहरूलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको नेपालखबर अनलाइनले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn