नेपाली

गोहीका दुई सय तीन बच्चा कोरलिए

CRIPublished: 2024-06-21 15:57:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन्। राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डालाई प्रजनन केन्द्रमा ‘ह्याचिङ’ गरिएका थिए। आर्थिक वर्ष २०७९/८० मा दुई सय ५९ अण्डाबाट दुई सय २२ बच्चा कोरलिएका थिए।

आर्थिक वर्ष २०७८/७९ मा पाँच सय ६३ अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए। प्रजनन केन्द्रमा भाले बूढो भएकाले चल्ला निस्कने क्रम कम भएका र गत वर्ष एउटामात्र बच्चा कोरलिएको थियो। अघिल्ला वर्षहरूमा पनि बच्चा कोरल्ने दर न्यून रहेको छ। प्रजनन केन्द्रमा सात सय ७३ गोही रहेका छन् भने तीमध्ये २० र ४६ वर्षका दुई भाले छन्।

यसै आवमा गरिएको सर्भेमा राप्ती र नारायणी नदीमा दुई सय ६५ वटा गोही देखिएका थिए। तीमध्ये छवटा भाले रहेको तिवारीले जानकारी दिए। नदी किनारमा जोखिममा रहेका गुँडहरूबाट सङ्कलन गरिएका अण्डा ह्याचिङमा राखेर निस्किएका चल्ला हुर्काएर नदीमा छोडिँदै आएको छ। यस आवमा राप्ती नदीमा एक सय पाँचवटा गोही छाडिएको छ।

प्रकृतिक बासस्थानमा बाँच्ने र हुर्कने दर कम भएको संरक्षित वन्यजन्तु घडियाल गोहीको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ। विसं २०३५ मा स्थापना गरिएको प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ सय ५७ घडियाल गोही प्राकृतिक बासस्थानमा छोडिएका छन्। सूचना अधिकारी तिवारीले हालसम्म राप्तीमा एक हजार दुई सय दुई, नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएका छन्। -रासस

Share this story on

Messenger Pinterest LinkedIn