नेपाली

नेपालको उत्तरी पर्यटकीय क्षेत्र मनासलुमा दस हजार पर्यटक

CRIPublished: 2024-06-21 15:30:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत वर्षको साउन महिनादेखि जेठसम्म मनासलु क्षेत्रमा झन्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । चुमनुब्री गाउँपालिकाका अनुसार उक्त अवधिमा नौ हजार ७६९ जनाले मनासलु क्षेत्र भ्रमण गरेका हुन् ।

मनासलु क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अहिले बेनिघाट, आरुघाट र लार्के सडकले नयाँ ट्र्याकमार्ग खोल्ने क्रममा पर्यटक हिँड्ने पैदलमार्ग मासिएकाले नयाँ पदमार्ग निर्माणलगायत पर्यटन विकासका लागि बृहत् गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मनासलु क्षेत्र पुग्ने पर्यटकका लागि चुमनुब्री गाउँपालिकाले रुबिनाला–दुधपोखरी वैकल्पिक मार्गका रूपमा विकास गरिएको र अन्य पदमार्ग निर्माणका लागि गाउँपालिका लागिपरेको उहाँको भनाइ छ । मनासलु क्षेत्रलाई देशकै पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले विभिन्न योजना निर्माण गरिरहेको छ ।

केही समयअगाडि गाउँपालिकाले प्रदूषण तथा डढेलोमुक्त तथा सिसामुक्त पालिका घोषणा गरेको थियो । चुमनुब्री गाउँपालिकामा जैविक विविधताको खुला सङ्ग्रहालय मनासलु क्षेत्र रहेकाले पर्यटक बढ्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

ऐतिहासिक र फरक भूगोलका कारणले पनि पर्यटक यो ठाउँमा आउने गरेका हुन् । उहाँका अनुसार पर्यटकीय पदमार्गमा पर्यटक सूचना केन्द्र व्यवस्थापन, ‘लोकेसन बोर्ड’ मर्मत तथा जडान, पदमार्गमा सरसफाइलगायतका काम भइरहेकाले आगामी दिनमा पर्यटक बढ्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ । यसैबिच उत्तरी गोरखाको धार्चे गाउँपालिका–१, यारु बगरस्थित क्यान्टिलिभर पुल (भिर खोपेर बनाइएको) तीन वर्षपछि मर्मत भएपछि स्थानीय तथा पर्यटकलाई यात्रा गर्न सहज भएको गोरखापत्र अनलाइनले जनाएको छ ।

Share this story on

Messenger Pinterest LinkedIn