नेपाली

नेपालमा १०औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

CRIPublished: 2024-06-21 15:27:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो। सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ। विश्व योग दिवसका अवसरमा उहाँले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिएवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यस वर्ष हामी ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ विश्व योग दिवस मनाइरहेको सन्दर्भमा राष्ट्रपति पौडेलले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो भन्दै योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले हाम्रा योग गुरुहरू र अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्दछ भन्नुभयो । भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो”, प्रधानमन्त्रीले भन्नुभयो, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमताका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, व्यक्तिमा सकारात्मक सोचको विकास, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । “नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपिल गर्दछु ।”

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। रासस

Share this story on

Messenger Pinterest LinkedIn