नेपाली

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

CRIPublished: 2024-06-18 15:21:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ। विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडा)को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा-२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आउनुभएको गोरखापत्र अनलाइनले जनाएको छ। भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो ।

आकीहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुनुहुन्छ। भेटमा मन्त्री पुनले नेपालमा आइडीए-२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताउनुभयो। उहाँले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।

विश्व बैंकसँग नेपालको छ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गर्नुभयो ।

उहाँले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गर्नुभयो। उहाँले २१औँ आइडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो। रासस

Share this story on

Messenger Pinterest LinkedIn