नेपाली

पैदल हिँडेरै काठमाडौबाट सगरमाथाको चुचुरोमा

criPublished: 2024-06-05 15:56:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘लामा दाइ’ का नामले परिचित पेसेवर ट्रेकिङ गाइड राजेश लामाले काठमाडौँबाट पैदलयात्रा गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले काठमाडौँबाट पैदल हिँडेको ५७ औँ दिनमा सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अप्रिल १ मा काठमाडौँबाट पैदलयात्रा थालेर चुनौतीपूर्ण भूभाग पार गरेर १५ दिनमा लुक्ला पुगेँ। यात्राको २४ औँ दिनमा सगरमाथा आधार शिविर पुगेर आरोहणको तयारीमा लागेँ।”

आरोहण अभ्यासकै क्रममा अप्रिल २७ मा लबुचे शिखर चढेको बताउँदै उहाँले मे १५ मा सगरमाथा आधार शिविरबाट पाँच दिनको आरोहणपछि सगरमाथाको चुचुरोमा पुगेको बताउनुभयो । ५७ दिनको यात्राको अवधिमा कुल ४३२.६ किलोमिटर दुरी पार गरेको उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइनका अनुसार नेपालको पर्यटन उद्योगमा एक दशकभन्दा बढी समयदेखि सक्रिय उहाँ अनुभव प्राप्त पेसेवर ट्रेकिङ गाइड हुनुहुन्छ । सन् २००९ देखि उहाँले ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका उहाँलाई सगरमाथाको पैदलयात्रामा नर्थ फेस नेपालले सहयोग गरेको थियो ।

कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जलवायु परिर्वतनका कारण हिमालमा पारेको असर न्यूनीकरण गर्न हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। हिमालका सम्भावनालाई उजागर गर्दै दिगो पर्वतीय अवधारणामा जोड दिन आवश्यक रहेको बताउँदै उहाँले जलवायु परिवर्तनकै कारण हिमाल, हिमनदी र हिमतालमा पुगेको असरले हिमाली वनस्पति, जीवजन्तु, चराचुरुङ्गीलगायत रैथाने बालीमा सङ्कट निम्तिरहेको जानकारी दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn