नेपालमा बिजुली उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य
नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत् जडित क्षमता ४५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । संसद्को संयुक्त सदनमा मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र कुल जडित विद्युत् क्षमता ४५ सय मेगावाट पुर्याउने बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। चालु आर्थिक वर्षको हालसम्म कुल जडित विद्युत् क्षमता २ हजार ९ सय ४० मेगावाट पुगेको उहाँको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्षभित्र १५६० मेगावाट विद्युत् उत्पादन गर्नर्पुर्ने देखिन्छ । तर विगतको उत्पादन आँकडा हेर्दा यो सम्भव देखिँदैन । २०७५/०७६ को आर्थिक सर्वेक्षणले त्यस वर्षको फागुनसम्म कुल जडित विद्युत् क्षमता ११४२ मेगावाट पुगेको देखाएको थियो । २०७६ फागुनसम्म २१३ मेगावाट थप भई कुल विद्युत् जडित क्षमता १३५५ मेगावाट पुगेको थियो । २०७७ फागुनमा १०३ मेगावाट थप भई १४५८ मेगावाट पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
२०७७ फागुनदेखि २०७८ फागुनमा मात्रै सबभन्दा बढी ७४७ मेगावाट बिजुली कुल विद्युत् जडित क्षमतामा थपिएको थियो । २०७८ फागुनसम्म २२०५ मेगावाट बिजुली उत्पादन भइरहेको थियो । २०७९ मा फागुनसम्म कुल विद्युत् जडित क्षमता २६६६ मेगावाट पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आगामी असारसम्म त्यसमा ३०९ मेगावाट विद्युत् थपिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आगामी आर्थिक वर्ष १५ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्राधिकरणको दाबी छ ।
छिमेकी मुलुक भारत र बंगलादेशमा विद्युत् निर्यात सुनिश्चित भएको राष्ट्रपति पौडेलले जानकारी दिनुभयो । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापार गर्ने गरी द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । सोही समझदारीअनुसार विद्युत् व्यापार निगम (एनटीपीसी) सँग मध्यकालीन खरिद–बिक्री सम्झौता (पीपीए) गरेर बर्खामा २०० मेगावाट विद्युत् निर्यात गरेको थियो ।