नेपाली

नेपालमा नौ महिनामा साढे छ अर्ब भित्रियो विदेशी लगानी

criPublished: 2024-05-13 19:19:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा नौ महिना साढे छ अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म छ अर्ब ४८ करोड रुपियाँ भित्रिएको छ। गत वर्ष सो अवधिमा दुई अर्ब ६२ करोड रुपियाँ भित्रिएको हो। गत वर्षको तुलनामा चार अर्ब १४ करोड रुपियाँले बढी भत्रिएको गोरखापत्र अनलाइनले लेखेको छ। सो अवधिमा मुलुकबाट पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आएर चार अर्ब ७८ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ९१ करोड कायम भएको थियो। नीतिगत सुधारसँग मुलकमा भित्रिने विदेशी लगानीमा सुधार आएको हो।

नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ। मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ। उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले नीतिगत सुधारले मुलुकमा वैदेशिक लगानी बढ्दै गएको जानकारी दिनुभयो।

चालु आवको नौ महिनामा विभिन्न २६९ परियोजनामार्फत ३० अर्ब १० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएका छन्। उद्योग विभागको तथ्याङ्क अनुसार आठ महिनामा साना उद्योगमा २१ अर्ब ८५ करोड रुपियाँ भित्रिएको छ। सो अवधिमा मझौला उद्योगमा तीन अर्ब ६३ करोड र ठुलो उद्योगमा तीन अर्ब ६६ करोड रुपियाँ भित्रिएको छ। पर्यटन, जलविद्युत् र सेवामूलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। छिमेकी मुलुक भारत, चीन, कोरिया, अमेरिका, सिङ्गापुरलगायतका मुलुकबाट विदेशी लगानी भित्रिने गरेको छ।

गत आव ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो तर सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रुपियाँ रहेको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn