नेपाली

मुस्ताङलाई हरियाली बनाइँदै

CRIPublished: 2024-05-12 16:01:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

देशकै सबै भन्दा कम वन क्षेत्र रहेको मुस्ताङलाई हरियाली बनाउन सुरु गरिएको छ । करिब ४ प्रतिशत भन्दा कम वन अर्थात् हरियाली रहेको मुस्ताङलाई हरियाली बनाउन लोमान्थाङबाट वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । ‘हाम्रो अभियान हरियाली लोमान्थाङ,खुसीयाली लोमान्थाङ’ भन्ने नाराका साथ गाउँपालिकाले वृक्षारोपण अभियान थालेको हो । चीनको सिमानासँग जोडिएको अपर मुस्ताङको लोमान्थाङका नाङ्गा पहाड र भूगोललाई हरियाली बनाउन वृक्षारोपण अभियान थालेको गाउँपालिकाले जनाएको छ । अभियान अन्तर्गत चालु आर्थिक वर्षमा दश हजार भोटे पिपलका बिरुवाहरू रोपिने गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘ जलवायु परिवर्तनले निम्त्याएको प्राकृतिक प्रकोप न्यूनीकरण गर्न र जैविक विविधताको संरक्षण गरी वातावरणीय लाभ प्राप्तिको लागि वृक्षारोपण अभियान सञ्चालन गरेका छौँ।’’

लोमान्थाङलाई हरियाली बनाउन अघिल्लो आर्थिक वर्ष देखि गाउँपालिकाले वृक्षारोपण अभियान थालेको बताउनुभयो । अघिल्लो वर्ष विभिन्न वडाहरूमा पाँच हजार बिरुवा रोपेको गाउँपालिकाले यो वर्ष प्रत्येक वडामा दुई हजारका दरले दश हजार बिरुवा रोप्ने योजना बनाएको पालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । वृक्षारोपणले लोमान्थाङलाई हरियाली र वातावरणमैत्री बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

वृक्षारोपण अभियानमा जनप्रतिनिधि,स्थानीय आमा समूह,युवा क्लब र स्थानीयवासीहरुको सहभागिता रहेको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कर्म नामगेल गुरुङले जानकारी दिनुभयो । माटोको सहरका रूपमा परिचित उपल्लो मुस्ताङको लोमान्थाङ पर्यटकीय स्थल हो । लोमान्थाङलाई स्वच्छ,सुन्दर र वातावरणमैत्री बनाई पर्यटन प्रवर्द्धन गर्न नाङ्गा डाँडाहरूलाई हरियाली बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

लोमान्थाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो पनि हो । गोरखापत्र अनलाइनका अनुसार ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यले यहाँ पर्यटक आकर्षित हुन्छन्।

Share this story on

Messenger Pinterest LinkedIn