नेपाली

गोरखाको वीरेन्द्रतालमा हिउँ पहिरो जाँदा किनारका बासिन्दालाई चेतावनी

CRIPublished: 2024-04-21 16:00:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

माथिबाट झरेको हिउँ पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ। बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य धेजेन डोमाले जानकारी दिनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

‘तालमाथिबाट ठूलो हिउँ पहिरो झर्‍यो’, उहाँले भन्नुभयो, ‘तालबाट गण्डकी जत्रै बाढी गएर बूढीगण्डकीमा मिसिएको छ। गण्डकी दोब्बर भएर बढेको छ।’ पर्यटकीय सिजन भएकाले मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न बिहान पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको उहाँले बताउनुभयो।

हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ। ‘बूढीगण्डकीमा पानीको बहाब उच्च भएको छ। हामीले बूढीगण्डकी छेउ किनारका बासिन्दालाई सतर्क रहन जगत, माछाखोला लगायत विभिन्न ठाउँका चौकीहरुमा सूचना गरेका छौँ’, डिएसपी रमेशकुमार श्रेष्ठले भन्नुभयो, 'सामागाउँ चौकीबाट घटनाबारे थप बुझ्न प्रहरी त्यसतर्फ गइसकेको छ।'

वीरेन्द्र तालमा हिउँ पहिरो प्राय गइरन्छ तर अहिले ठूलो हिमपहिरो गएको वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn