नेपाली

नेपालको हिमाली जिल्ला डोल्पामा १२० हिउँचितुवा भेटिए

CRIPublished: 2024-04-20 15:52:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको हिमाली जिल्ला डोल्पामा १ सय २० वटा हिउँचितुवा भेटिएको छ। शुक्रबार वन्यजन्तु सप्ताह पारेर डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० वटा गरी १ सय २० वटा दुर्लभ हिउँचितुवा भेटिएको तथ्यांक सार्वजनिक गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

निकुञ्ज क्षेत्रमा ९० वटा हिउँचितुवा र वन क्षेत्रमा ३० वटा हिउँ चितुवा भेटिएको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताउनुभयो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत विश्व सीमसार दिवसको अवसर पारेर फेब्रुअरी २०२४ मा ९० वटा हिउँचितुवाको संख्या सार्वजनिक गरेको थियो।

सन २०१९ मा हिउँचितुवा गणनाका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरिएको छ। दुर्लभ हिउँचितुवा गणनाका निम्ति निकुञ्जको ८० लाख र सामुदायिक वन क्षेत्रमा ४८ लाख खर्च भएको विश्व बन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिनुभयो। उक्त आर्थिक सहयोग विश्व वन्यजन्तु कोषले उपलब्ध गराएको उहाँले बताउनुभयो।

हिमचितुवाको मुख्य आहारा झारल, घोरल नाउर रहेको र सोही झारल घोरल र नाउरको संख्या निकुञ्जमा ४ हजारभन्दा बढी रहेको निकुञ्जले जनाएको छ। २०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हिउँ चितुवाको प्रख्यात क्षेत्र रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत हमालले जानकारी गराउनुभयो।

फिल्ड कार्यक्रम अधिकृत हमालका अनुसार निकुञ्ज क्षेत्रको करिब ३ हजार देखि ४५ सय मिटर उचाइमा हिमचितुवा भेटिने गरेको छ। ३५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल निकुञ्जले ओगटेको छ। यो निकुञ्जभित्र मुगुको मुगुम् कार्मारोङ गाउँपालिकासहित डोल्पाका तीन वटा गरी ४ वटा स्थानीय तह पर्दछन्।

Share this story on

Messenger Pinterest LinkedIn