नेपाली

नौ वर्षपछि तातोपानी हुँदै खासाबाट सामान लिएर फर्किए तीन कन्टेनर

criPublished: 2024-04-08 16:40:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका हुँदै नौ वर्षपछि पहिलो पटक नेपाली कन्टेनर खासाबाट सामान लिएर फर्किएका छन् । चिनियाँ नाका तातोपानीबाट शनिबार खासा पुगेका तीन कन्टेनर आइतबार ३० टन स्याउ लिएर लिपिङ क्षेत्र भित्रिएका हुन् । भूकम्प र परकम्पनपछि नाका ठप्प भएयता नेपाली कन्टेनर खासा सिगात्से र रमिते क्षेत्र जान पाएका थिएनन् । यसअघि सर्वसाधारण र निर्यातका लागि नाका खोलिए पनि लिपिङपारि चिनियाँ बजार मोडको भूभागसम्म मात्रै खाली टेलर कन्टेनर जान दिइएको भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पा बताउनुहुन्छ।

स्थानीय मितेरी पुलपारिका एक दर्जन चिनियाँ बजारसम्म मात्रै जान पाएका थिए । ‘नौ वर्षपछि पहिलो पटक रिवाङ लजिस्टिक कम्पनीका तीन कन्टेनर खासा पुगेका छन् । ३० टन स्याउ लिएर लिपिङ फर्किएका छन् । यो हामी सबैका लागि सुखद सन्देश बनेको छ, नाका फराकिलो बन्दै छ,’ शेर्पाले भन्नुभयो। काठमाडौंबाट चीनको मुख्य व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी एक सय ६४ किमि दूरीमा पर्छ ।

केरुङभन्दा तातोपानीबाट सिगात्से ३० किमि कम दूरी पर्ने शेर्पाले जनाए । चीनबाट जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री खासाबाट तातोपानी आइपुग्न केही दिन मात्रै लाग्ने उहाँको भनाइ छ । खासामा अन्य सामग्री भए नेपाली कन्टेनर जान दिइने चिनियाँ नीति देखिन्छ । यद्यपि हाल खासा बजार पुनर्निर्माण भइरहेकाले निश्चित कन्टेनर मात्रै आउजाउ गर्न दिइएको छ । चीनको सिगात्सेबाट १३ दशमलव ७५ लामो टेलर र कन्टेनरलाई आयात यार्डमा स्थान सीमित भएकाले कन्टेनर प्रवेश समय निश्चित गरिएको छ ।

करिब दुई वर्षलाई लक्ष्य गरेर खासामा स्मार्ट सिटी तयार गरेर चीनले भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कार्यलाई निरन्तरता दिइरहेको छ । चीनले खासा बजारलाई केन्द्रित गर्दै सडक र नालालाई व्यवस्थित बनाइरहेको छ । अहिलेसम्म ठूला भौतिक संरचनामा ६ वटा घर भत्काएर अन्य नापजाँचको प्राविधिक प्रक्रिया पुर्‍याएर काम गरिरहेको छ । अहिले कन्टेनर सिधै खासा पुगेपछि भूकम्प र परकम्पनपछि नाका ठप्प हुँदा सुनसान बनेका रमिते र तल्ला मोडक्षेत्रका चिनियाँ बजारमा होटेल र पसल खुल्न थालेका छन् ।

आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा केही सुधार आइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताउनुभयो । तातोपानीबाट अहिलेसम्म ८ वटा कन्टेनरबाट झन्डै एक करोड बराबरका मुडा, फ्रेमलगायत सामग्री चीनको ल्हासा र अन्य बजार पुगेका छन् । ‘कन्टेनर पारि पुगिरहँदा निर्यात थपिँदै छ भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आइरहेका छन्,’ केसीले भन्नुभयो।

कान्तिपुर अनलाइनका अनुसार चिनियाँ कम्पनीले बनाइदिएका अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहबाहेक अन्य अध्यागमन, गेट, सीमा सुरक्षा पोस्ट जस्ता महत्त्वपूर्ण सबै टहरा, जीर्ण भवनमा चलाइएका छन् । सीमा जोड्ने कोदारी राजमार्ग २६ किमि अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापेझैं अवस्था छ ।

भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउ जस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुन्थ्यो ।

Share this story on

Messenger Pinterest LinkedIn