नेपाली

कोरलानाका खुल्लै छ, छैनन् कर्मचारी

criPublished: 2024-04-08 16:41:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उत्तरी चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित नेचुङमा मुस्ताङ भन्सार कार्यालय छ। कोरला नाका खुला नभएको अवस्थामा पनि भन्सार विभागले उपल्लो मुस्ताङको छोसेरमा भन्सार कार्यालय स्थापना गरेको थियो। जोमसोममा यही भन्सार कार्यालयको एकाइ कार्यालय पनि छ। यहाँका भन्सारले बर्सेनि नेपाल–चीनबीच हुने अन्तरदेशीय अल्पकालीन व्यापार मेलामा सीमित अवधिका लागि राजश्व उठाउन भन्सारका केही कर्मचारी त्यहाँ बस्थे।

विगतदेखि नै गुमनाम रहँदै आइरहेको मुस्ताङ भन्सार कार्यालयमा चालु वर्षको कात्तिक २७ गते कोरलानाका औपचारिक रूपमा खुला भएसँगै त्यहाँको भन्सार कार्यालयमा आंशिक कर्मचारी बस्ने गरेका थिए। हिउँदयाम भरी भन्सार कार्यालयमा कार्यालय सहयोगी मात्रै बस्दै आईरहेकोमा पछिल्लो समय मुस्ताङ भन्सारमा कार्यालय सहयोगी समेत बस्न छोडेको त्यस क्षेत्रका एक स्थानीय बासिन्दाले जानकारी दिएको अन्नपूर्णपोस्टले लेखेको छ।

मुस्ताङ भन्सार कार्यालयमा ७ जना कर्मचारीको दरबन्दी छ। जसमा १ जना अधिकृत, २ जना नायव सुब्बा, १ लेखापाल, १ कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी छ। हालसम्म मुस्ताङ भन्सार कार्यालयलाई अधिकृत तहको कार्यालय प्रमुखको दरबन्दी पदपूर्ति हुन सकेको छैन।

नेपाल–चीन नेचुङ÷लिजी कोरलानाकामा अहिले पनि व्यापारिक कारोबार भइरहेको छ। विगतमा अल्पकालीन आकल झुकल खुला हुने यो नाका विगत ६ महिनादेखि उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको हो। अहिले पनि दैनिक १०/१२ जना व्यापारीहरू नेपाल–चीन नेचुङ÷लिजी कोरलापासको चिनियाँ भूमिमा पुगेर मालसामान आयात गर्ने गरेका छन्। नाकामा व्यापारिक कारोबार आंशिक रूपमा हुने गरे पनि त्यहाँ भन्सार कार्यालयमा राजस्व संकलन गर्ने कर्मचारी नहुँदा समस्या उत्पन्न भएको हो।

Share this story on

Messenger Pinterest LinkedIn