नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको हिस्सा अहिलेसम्मकै धेरै, रसुवा र तातोपानी नाकाबाट लक्ष्यभन्दा धेरै राजस्व
उत्तरी छिमेकी चीनसँग नेपालको व्यापार उल्लेख्य बढेको छ। नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीनको उपस्थिति अहिलेसम्मकै बलियो स्थितिमा पुगेको छ। चालु वर्षको पहिलो आठ महिना (२०८० साउनदेखि फागुनसम्म) मा समग्र व्यापार २.७८ प्रतिशतले घटेको छ। तर, चीनसँगको व्यापार भने करिब ३५ प्रतिशतले बढेको छ। यो वर्ष चीनसँग स्थलमार्गबाट हुने कारोबार बढेको कारण समग्र व्यापार बढेको भन्सार अधिकारीहरूले बताएका छन्।
गत आर्थिक वर्षको आठ महिनामा चीनसँग नेपालले एक खर्ब ४६ अर्ब रूपैयाँ बराबरको व्यापार गरेको थियो। यो वर्ष भने ५० अर्ब रूपैयाँले बढेर एक खर्ब ९६ अर्ब रूपैयाँ बराबरको भएको छ। गत वर्षको आठ महिनासँग तुलना गर्दा समग्र व्यापारमा निर्यात चार गुणाले बढेको छ भने आयात ३३ प्रतिशतले बढेको छ। गत वर्ष आठ महिनामा एक खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ बराबरको सामान चीनबाट आयात भएको थियो भने ५२ करोड रूपैयाँको सामान निर्यात भएको थियो। यो वर्ष भने एक खर्ब ९४ अर्ब रूपैयाँको आयात भएर एक अर्ब ९५ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत र अन्य देशहरूसँग पनि यो वर्ष व्यापार घटेकोमा चीनसँग भने आयात र निर्यात दुवै बढेको छ। यी अवधिमा भारतसँग
आयात २.८ र निर्यात ७.७ प्रतिशतले घटेको छ। २०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि भारतसँगको व्यापार घटेको कारण समग्र व्यापारमा चीनको हिस्सा बढेको थियो।
सेतोपाटी अनलाइनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा भएको नेपालको समग्र वस्तु व्यापारमा चीनको हिस्सा १४ प्रतिशत पुगेको थियो। त्यो वर्ष आठ खर्ब ४५ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएकोमा चीनसँग एक खर्ब १७ अर्ब रूपैयाँको भएको थियो। त्यसै वर्ष समग्र व्यापारमा चीनको हिस्सा १४ प्रतिशत पुगेको हो। त्यसपछि आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको व्यापारमा पनि चीनको हिस्सा १४ प्रतिशत पुगेको थियो।