नेपाली

पोखरा विमानस्थलमा मानवीय सहायता स्थल बनाइँदै

criPublished: 2024-03-24 16:37:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गएको कात्तिक २२ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ जहाज आएका थिए। जहाज अवतरण भइसकेपछि पनि आधा घण्टासम्म इन्जिन बन्द गर्न मिलेन। रुकुमपश्चिमका भूकम्पपीडितलाई जहाजले ल्याएको राहत निकाल्ने ठुलो क्षमताको लिफ्टर विमानस्थलमा थिएन। पछि बाहिरबाट लिफ्टर मगाएर सामान झारियो।

विपत्का बेला आइपर्ने यस्तै अप्ठ्यारा अवस्थामा सघाउन पोखरामा मानवीय सहायता स्थल बनाइने भएको छ। पोखराको पुरानो विमानस्थल ‘पोखरा विमानस्थल’ को करिब तीन रोपनीमा बन्ने सहायता स्थल बिहीबार शिलान्यास गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। विश्व खाद्य कार्यक्रम, नेपाल सरकार र युरोपेली सङ्घको सहकार्यमा पोखरामा यसको निर्माण गर्न लागिएको हो।

भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपत्का बेला खोज, उद्धारसँगै आपत्कालीन राहत एवं पुनस्र्थापनाका सामग्री भण्डारण, वितरण र आपत्कालीन व्यवस्थापन टिमलाई काम गर्र्न सहज बनाउन यसको निर्माण गर्न लागिएको हो। दुई करोड २६ लाख रुपियाँ लागतमा निर्माण गर्न लागिएको सहायता स्थल चार महिनामा तयार हुने परियोजना प्रबन्धक मोती थापाले जानकारी दिनुभयो।

“सहायता स्थलले आपत्कालीन राहत र उद्धारका सामग्री भण्डारण, प्राप्ति, पुनः प्याकेजिङ तथा विपत्पश्चात् निर्दिष्ट स्थानमा ढुवानी तथा वितरणमा सहयोग पुग्छ,” थापाले भन्नुभयो। प्रत्येक प्रदेशमा एक सहायता स्थल बनाउने नीति अनुरूप यसअघि नेपालमा ११ सहायता स्थल बनिसकेका छन्।

पोखराको सहायता स्थलका फोकल पर्सन रतिन्द्र खत्रीले काठमाडौँ विमानस्थलको सहायता केन्द्रले काम गर्ने नसक्ने अवस्थामा पोखराको स्थलले वैकल्पिक रूपमा काम गर्न सक्ने र गण्डकी प्रदेशमा आइपर्ने विपत्मा समेत सहयोगी हुने उल्लेख गर्नुभयो।

पोखराको सहायता स्थलको भण्डारण क्षमता सात सय मेट्रिक टन हुने छ। विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रोबर्ट कास्काले विपत्को पूर्वतयारी राम्रो हुँदा समय र जीवन बचाउन सकिने उल्लेख गर्दै प्रदेशस्तरीय सहायता केन्द्रबाट प्रकोप प्रतिकार्य छिटो र प्रभावकारी हुने अपेक्षा गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn